आयात प्रतिबन्धको समय शुक्रबार सकिदै

काठमाडौँ । सरकारले तेस्रो पटक म्याद थप गरेर आयात प्रतिबन्ध कायम राखेको चार प्रकारका विलासी वस्तुको प्रतिबन्ध तोकिएको् समय शुक्रबार सकिदै छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकाअनुसार आयात प्रतिबन्ध फुकुवा हुने वा नहुनेबारे मंगलबार बिहानसम्म कुनै छलफल भएको छैन । विदेशी मुद्रा सञ्चितिमा दबाव कायमै छ वा छैन भन्नेबारे अर्थ मन्त्रालय र राष्ट्र बैंकबाट कुनै जानकारी नआएका कारण मन्त्रालय समेत अन्योलमा परेको छ ।

शुक्रबार प्रतिबन्धको समय सकिदै छ, तर जे कारण प्रतिबन्ध लगाएको हो, सो अवस्था सुध्रिएको हो वा होइन भन्नेबारे हामीलाई अर्थ र राष्ट्र बैंकले कुनै जानकारी गराएका छैनन्,’ मन्त्रलयका अधिकारी भन्छन्, दशैं बिदा भर्खरै सकिएको छ । हालसम्म यस विषयमा कुनै छलफल समेत नभएको बताए ।

मन्त्रालयले गत १४ भदौमा ५ महिना लामो प्रतिबन्ध पछि ६ प्रकारका वस्तुको प्रतिबन्ध हटाएर मदिरा, स्मार्ट फोेन, महँगा चारपाङ्ग्रे सवारी साधन र मोटरसाइकलको प्रतिबन्ध २८ असोजसम्म लम्ब्याएको थियो । गत वैशाखमा १० प्रकारका बिलासी वस्तुमा असार मसान्तसम्म आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो । त्यसलाई थप कसिलो बनाउँदै ३० असारमा प्रतिबन्ध १४ भदौसम्म थप गरिएको थियो ।

विदेशी मदिरा, स्मार्ट फोेन, महँगा चारपाङ्ग्रे सवारी साधन र मोटरसाइकलको प्रतिबन्ध खुल्ने वा थप लम्बिनेबारे सरकारी निर्णय नहुँदै व्यवसायीले भने प्रतिबन्ध फुकुवाका लागि दबाव बढाइरहेका छन् । तर, सरकारी निकाय भने यसबारे औपचारिक छलफलमा समेत जुटेका छैनन् ।