किन दोहोरिए महासेठ दम्पती ?

काठमाडौँ । २०६४ पछि राजनीतिमा पछाडि फर्केर हेर्नु नपरेका निकै थोरैमध्ये पर्छन, एमालेका सचिव रघुवीर महासेठ र उनकी पत्नी जुली महतो । यसपाला पनि धनुषा–३ र ४ मा २०७० को चुनावी दृश्य दोहोरिएको छ । त्यतिबेला पनि यी दुईमध्ये क्षेत्र नम्बर ४ बाट रघुवीर र ३ मा उनकी पत्नी जुली प्रतिनिधिसभाका लागि चुनावी मैदानमा उत्रिएका थिए ।

अहिले पनि यिनै दुई क्षेत्रमा यो दम्पती चुनावी प्रतिस्पर्धामा होमिएको छ । एकै घरमा दुई उम्मेदवार महासेठ दम्पतीको घर जनकपुर–९ ब्रम्हपुरीमा पर्छ । जुन दुवै निर्वाचन क्षेत्रको मध्यभागमा छ । त्यहीबाट उनीहरू बिहानै आ–आफ्नो क्षेत्रतिर चुनावी दौडमा लाग्छन् । घरदैलो सकेर अबेर राति फर्किन्छन् । सिंगो मधेस प्रदेशमा टिकटका आकांक्षीको विद्रोह र असन्तुष्टि सतहमा आइरहँदा महासेठ दम्पती भने विगतमा जस्तै यसपाला पनि पार्टीको पहिलो रोजाइमा परे ।

२०६४ को संविधानसभा चुनावमा रघुवीर धनुषाकै क्षेत्र नम्बर ५ बाट चुनावमा उठेका थिए । उनकी पत्नी जुली भने समानुपातिकमा छनोट भएकी थिइन् । २०७० को चुनावमा पनि धनुषा ३ मा महासेठ र ४ मा जुली चुनावी मैदानमा उत्रिए । २०७४ को संसदीय चुनावमा रघुवीर धनुषा–४ बाटै चुनावी प्रतिस्पर्धामा देखिए भने जुली समानुपातिक उम्मेदवार बनिन् । अहिले भने दम्पती नै प्रत्यक्ष चुनावमा होमिएका छन् ।

मनोनयनअघि मधेसमा ‘रातोकार्पेट ओछ्याएर’ अन्य दलका नेता–कार्यकर्ता एमालेमा प्रवेश गराउने लहर चलेको थियो । मनोनयनका दिनपछि भने टिकट नपाएका आकांक्षी तितरबितर देखिन्छन् । टिकटमा असन्तुष्टि राख्दै रौतहटका एमाले नेता प्रभु साह समूहले स्वतन्त्र उम्मेदवारी दिएर संगठित विद्रोह नै गरे । धनुषा एमालेका नेता किशोरी साह कमलले एमालेबाट टिकट नपाएपछि मनोनयनअघि जनमत पार्टी रोजे ।

२७ भदौमा जनकपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘धनुषा–३ जुलीका लागि सुरक्षित रहेको’ बताउँदै त्यतिबेला महन्थ ठाकुरको दल लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० सँग भइरहेको चुनावी तालमेलको अध्याय रोकेका थिए । किनभने, धनुषा–३ मा लोसपाको दाबी थियो । २०७४ को निर्वाचनमा त्यो क्षेत्र लोसपाका नेता राजेन्द्र महतोले जितेका थिए । लोसपाले धनुषा–३ कुनै हालतमा नछोड्ने अडानमा रहेकै बेला ओलीले जनकपुरमै आएर भने, ‘धनुषाको क्षेत्र नम्बर ३ मा भ्रम नपरोस् । यस क्षेत्रमा एमाले उठ्छ । को उठ्छ तपाईंहरूलाई थाहा छ ।’ उनले यति भनिरहँदा सभाका केहीले जुली महतोको नाम लिए । अनि, ओलीले भने, ‘धन्यवाद । मैले नाम सुनेँ ।’

ओली जनकपुरको सभाबाट फर्किएपछि एमालेले जुलीको नाम धनुषा–३ बाट सिफारिस गर्‍यो । एमालेकै जिल्लास्तरीय नेताहरू जुलीको राजनीतिक पृष्ठभूमिबारे प्रश्न गर्छन् । तर जुलीका समर्थकहरू उनी सिरहाको कर्जन्हामा विद्यालय पढ्दा नै एमालेको भ्रातृ संगठन अनेरास्ववियूमा आबद्ध भएकी र उनको परिवार कम्युनिस्ट नेता विष्णु मानन्धरसँग नजिक रहेको दाबी गर्छन् ।

२०७० को निर्वाचनमा पराजित भएपछि जुलीलाई एमालेले ०७४ मा फेरि समानुपातिक सांसद बनाएबाटै बुझ्न सकिन्छ उनको केन्द्रसँगको साइनो । यसपाला भने उनी समानुपातिक सांसद नदोहर्‍याउने एमाले नीतिकै कारण प्रत्यक्ष चुनावमा होमिएकी छन् । यसपाला उनको प्रतिस्पर्धा सत्ता गठबन्धनका उम्मेदबार लोसपाका नेता अनिल झासँग हुँदै छ । झा यो क्षेत्रका लागि नयाँ अनुहार भए पनि कांग्रेसको पकड र लोसपाले अघिल्लो निर्वाचनमा जितेको क्षेत्र भएकाले कडा प्रतिस्पर्धा हुने देखिन्छ । तर अर्को मधेसवादी दल जसपाको साथले जुलीलाई बढी आशावादी बनाएको छ ।

रघुवीर दम्पती एमालेको विश्वासपात्र कसरी बने भन्ने रोचक पृष्ठभूमि छ । कोलम्बो प्लानअन्तर्गत भारतको राँचीबाट इन्जिनियरिङ सकेर सिँचाइ विभागमा कार्यरत रहेकै बेला २०५१ सालमा एमाले सरकारले रघुवीर महासेठलाई उदयपुर सिमेन्ट कारखानाको महाप्रबन्धक बनायो । महाप्रबन्धक रहेकै बेला २०५२ मा उनले जुलीसित विवाह गरे । एमालेमा वामदेव गौतमनजिक मानिएका महासेठ पछि ओलीका लागि ‘खास’ बने । महाप्रबन्धकबाट हटेपछि एमालेको पूर्णकालीन राजनीतिमा होमिएमा महासेठ पहिलोपटक धनुषा–५ को उपनिर्वाचनमा विजयी भएका थिए । पहिलो निर्वाचनमा भने उनी कांग्रेसका रामवरण यादवसँग पराजित भएका थिए । यादव राष्ट्रपतिमा निर्वाचित भएपछि खाली रहेको क्षेत्रमा २०६५ मा उपनिर्वाचन भयो । त्यसको फाइदा रघुवीरको पोल्टामा आइपुग्यो । यो चुनावी जितलगत्तै उनी सिँचाइमन्त्री बने ।

०७० को निर्वाचनमा भने महासेठ क्षेत्र नम्बर ४ मा पूर्वराष्ट्रपति यादवका छोरा चन्द्रमोहनसित पराजित भए । जुली क्षेत्र नम्बर ३ मा कांग्रेसकै नेता विमलेन्द्र निधिसित हारिन् । तर २०७४ को निर्वाचनमा महासेठले जित हात पारे । उनले कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई पराजित गरे । जुली समानुपातिकबाट सांसद बनिन् । ओली सरकारमा महासेठ भौतिक पूर्वाधार तथा यातायात र उपप्रधान तथा परराष्ट्रमन्त्रीसमेत भए ।

२०७४ को निर्वाचनमा महासेठले २२ हजार ५ सय ३२ मत ल्याएर जितेका थिए । त्यतिबेला कांग्रेसका महेन्द्र यादवले १९ हजार ९ सय ९१ र जसपाका महाजन यादवले १९ हजार ६ सय ६२ मत ल्याएका थिए । जसपासँग मधेसमा चुनावी तालमेल गर्न सक्रिय महासेठलाई आफ्नै क्षेत्रमा यसपल्ट ‘मित्रवत् प्रतिस्पर्धा’ गर्नुपरेको छ । एमालेसँग मधेसमा चुनावी सहकार्य गरेको जसपाबाटै महाजन यादव फेरि उठेका छन् । कांग्रेस सहमहामन्त्री यादव पनि चुनावी मैदानमा छन् । त्यसैले महासेठसँग पुरानै प्रतिस्पर्धी छन् ।

जिल्लाका नेताहरू भने महासेठ दम्पतीले पार्टीमा गरेको योगदानलाई हेरेरै टिकट पाएको दाबी गर्छन् । ‘महासेठ दम्पतीको एमालेमा लगानी र योगदान छ, त्यही आधारमा उहाँहरूले टिकट पाउनु भएको हो,’ एमाले धनुषाका उपसचिव श्याम पूर्वेले भने, ‘व्यक्तिगत प्रभाव वा दबाबले होइन ।’ कान्तिपुरपोष्टबाट

ताजा अपडेट