पाल्पामा पहिराले रामपुर नहर बन्द हुँदा धानबालीमा असर

काठमाडौँ । पाल्पा जिल्लाकै सबैभन्दा ठूलो सिँचाइ आयोजनाका रूपमा सञ्चालनमा रहेको रामपुर नहर पहिराले बन्द भएको छ । गत असोजको अन्ततिर परेको अविरल वर्षाले नहरका विभिन्न ठाउँमा क्षति पु¥याउँदा बन्द हुन पुगेको हो । नहर बन्द भएपछि धानबालीमा असर परेको किसानले गुनासो गरेका छन् ।

रामपुर फाँट सिँचाइ आयोजना जल उपभोक्ता समितिबाट सञ्चालन हुँदै आएको यस नहर पहिराले बन्द हुँदा धानबालीमा सिँचाइको समस्या निम्तिएको छ । पसाउन लागेका, कोही पसाउँदै गरेको अवस्थामा रहेको धानबालीलाई पर्याप्त सिँचाइ दिन नपाउँदा उत्पादनमा ठूलो असर पर्ने रामपुर–३ मटेरी बस्ने विष्णु गौतमले बताए ।

“नहरमा पानी बन्द भएको करिब १० दिन भइसक्यो, धानलाई मुख्य सिँचाइ दिनुपर्ने समयमा सिँचाइ गर्न नपाउँदा वर्ष दिन खाने खेतीको उब्जनी नै घट्दा हामी किसान मारमा परेका छौँ”, उनले भने। धान रोप्ने समय, गोडमेल गर्ने, पसाउने समयमा बर्सेनि नहरमा पहिराले क्षति पुगेकै हुन्छ । यसले गर्दा किसानले बाली लगाएर ढुक्कसँग उत्पादन लिन पाइन्छ या पाइँदैन सधैँ अन्योलमै खेती गर्न बाध्य छन् ।

हेडबक्स नजिकै सोलीघोप्टे र जामुनेमा करिब २५–२५ मिटर, कमिरेको दुई स्थानमा १५–१५ मिटर, रजघराको कामीगाउँबाट तल २५ मिटर पहिरो खस्दा नहरमा पानी बन्द भएको उपभोक्ता समितिका अध्यक्ष हिरण्यराज रेग्मीले बताए । “पहिरो पन्छाउने काम भइरहेको छ, ठाउँ–ठाउँमा नहरदेखि माथिका भागबाट ठूला–ठूला ढुङ्गासहित पहिरो खसेकाले काम गर्न समय धेरै लागेको हो”, उनले भने, “अबको दुई–तीन दिनभित्रमा काम सम्पन्न गरेर पानी सञ्चालन गर्नेछौँ ।”

अध्यक्ष रेग्मीका अनुसार हाल विभिन्न ठाउँमा गरी दैनिक ३८ कामदार परिचालन गरेर पहिरो पन्छाउने काम भइरहेको छ । सानो बजेटले काम गर्न उपभोक्ता समितिलाई कठिनाइ परेको छ । “नहरलाई व्यवस्थित बनाउन बजेट अभाव छ, पुरानो संरचना मर्मतसम्भार गर्नुपर्ने अवस्थामा छन्, पुनःनिर्माणमार्फत काम गर्नुपर्ने देखिएको छ, सानो बजेटले काम गर्न गाह्रो छ, यसका लागि माथिल्लो निकायमा बजेट माग गरिरहेका छौँ”, उनले भने ।

गत वर्ष लुम्बिनी प्रदेश सरकारमार्फत रु ५० लाख बजेट प्राप्त भई विभिन्न ठाउँमा मर्मतसम्भारको काम भएको र यस वर्ष केन्द्रबाट रु ८० लाख बजेट परेको उहाँले जानकारी दिनुभयो । निस्दीखोलाको पानीलाई सोलीघोप्टे नजिकै बाँध बाँधेर विसं २०४६ मा रामपुरमा झण्डै २२ किमी परबाट सिँचाइका लागि पानी ल्याइएको हो । २०४६ फागुन १० गते नहरको विधिवतरूपमा उद्घाटन गरिएको थियो ।

एक हजार २ सय हेक्टर कुल क्षेत्रफल रहे पनि हाल ७ सय ७० हेक्टर जमिनबाट सिँचाइ सुविधा उपभोग गरेवापत प्रतिरोपनी १ सय २० का दरले सेवा शुल्क उपभोक्ता समितिले उठाउँदै आएको छ । नहरबाट सिञ्चित क्षेत्रफल घट्दो र मालपोत कार्यालयबाट लगत कट्टा हुने क्रम बढ्दो छ । नहरको रेखदेखका लागि वर्षायाममा छ र हिउँदमा ३ जना हेरालु राखिएको छ । मूल नहरबाट ५ शाखा र ४२ उपशाखा रहेको छ ।