३ वर्षपछि सडक कालोपत्रको काम सुरु

काठमाडौँ । ट्याक (मार्ग) खोलेको २३ वर्षपछि म्याग्दीको रत्नेचौर–भकुण्डे–भकिम्ली सडक कालोपत्रे गर्न आयोजना सुरु भएको छ ।

भौतिक पूर्वाधार मन्त्रालयले बेनी नगरपालिकाको वडा नम्बर १ रत्नेचौरको उपल्लाचौरदेखि अर्जम, वडा नम्बर २ को ज्यामरुककोट, स्यानालेक, तोराखेत हुँदै वडा नम्बर ३ भकिम्ली जोड्ने सडक स्तरोन्नतिको काम थालेको हो ।

एक निर्वाचन क्षेत्र एक सडक आयोजनामा समावेश भएको यो सडक कालोपत्रका लागि ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालेको बेनी–१ का वडाध्यक्ष टेकबहादुर थापाले जानकारी दिएका छन् ।

भकुण्डे र उपल्लाचौर क्षेत्रमा डोजरले सडक फराकिलो बनाउने र मजदुरबाट पर्खाल, नालि निर्माण गर्न लागेको हो । विसं २०५६ मा मार्ग खोलिएको बेनी नगरपालिकाको १, २ र ३ नम्बर वडाका बासिन्दाले प्रयोग गर्ने यो सडक सामान्य मर्मतको भरमा यातायात सञ्चालन हुँदै आएको थियो ।

सडक निर्माणका लागि विसं २०७९ भदौ ६ गते गजेन्द्र–नयाँबाटो जेभी र सडक डिभिजन कार्यालय बागलुङबीच भ्याटबाहेक रु २३ करोड ३२ लाखमा ठेक्का सम्झौता भएको थियो । तोकिएको ३० महिनाको अवधिभित्र सडक निर्माणको काम सक्ने तयारीसहित उपकरण र मजदुर परिचालन गर्ने निर्माण कम्पनीका सञ्चालक अरुण सेढाईले बताए ।

सङ्घीय सरकारले प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा एक/एक वटा रणनीतिक महत्वको सडक आयोजना सञ्चालन गर्न रु ४०/४० करोड विनियोजन गरेको थियो । निवर्तमान सांसद भूपेन्द्रबहादुर थापाले म्याग्दीका प्रमुख तीन रणनीतिक सडक मध्य कुनै पनि कार्यक्रममा नसमेटिएको र बागलुङको ताराखोला गाउँपालिकासँग जोड्ने भएकाले रत्नेचौर–भकुण्डे–भकिम्ली–बरंजा सडक आयोजनालाई सिफारिस गरेको बताए ।

सडकलाई नौ मिटर फराकिलो बनाएर ७ किलोमिटर डिबिएसडी प्रविधिको कालोपत्रे र २ किलोमिटर आरसिसी ढलान गर्ने सम्झौता भएको छ । यसैगरी घुम्ती तथा मोड सुधार र ग्रेड मिलाउने काम पनि गरिनेछ । हाल चारदेखि ५ मिटर फराकिलो सडक हिउँदमा धुलाम्मे र हिउँदमा हिलाम्मे हुने समस्या छ ।

बेनी–दाना सडक कालीगण्डकी कोरीडोर र बेनी–दरवाङ सडक प्रदेश सरकारको कार्यक्रममा छ । उनले भने, आर्थिक वर्ष २०५५/५६ मा खनिएको यो जिल्लाको अर्को रणनीतिक महत्वको सडक भएकाले स्तरोन्नतिका लागि सिफारिस गरिएको हो ।