सर्लाहीमा ७ महिने शिशुको शव बोराभित्र फेला

काठमाडौँ । सर्लाहीको ईश्वरपुर नगरपालिका–६, स्थित फूलजोर खोलाको किनारमा मंगलबार बिहान अन्दाजी ७ महिना शिशुको शव फेला परेको छ ।

बयलवासबाट फूलजोर मन्दिर हुँदै रानिगञ्जतर्फ आउने सडकको खोला किनारमा बोराभित्र पोको पाकेर अवस्थामा नवजात शिशुको शव फेला परेको हो ।

शिशु कसले फालेको हो भनी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय केशरगञ्ज, बयलवासका प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिएका छन् । प्रहरी निरीक्षक थापाका अनुसार मंगलबार बिहान १० बजेतिर फोहोर संकलन गर्ने बालबालिकाले बोराभित्र शिशुको शव फेला पारेपछि प्रहरीलाई जानकारी गराएको बताए ।

उक्त शिशु अवैध सम्बन्धपछि जन्माएर फालेको हुन सक्ने प्रहरीले आशंका गरिएको छ । मृतक शिशुको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरी निरीक्षक थापाले बताए ।