कैलालीमा मतदाता शिक्षाका लागि नमूना मतदान

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको तयारीका क्रममा कैलालीको सुख्खडमा नमूना मतदान गरिएको छ । उक्त मतदानमा शत प्रतिशत मत सदर भएको छ ।

कैलाालीको निर्वाचन क्षेत्र नं. ३ को सुख्खड स्थित घोडाघोडी नगरपालिकाको कार्यालय परिसरमा आयोजित नमूना मतदानमा ४२ मत खसेकोमा सबै मत सदर भएको थियो ।

प्रदेश निर्वाचन कार्यालय, धनगढीको पहलमा भएको नमूना मतदानमा नगरपालिकाका प्रमुख खडक रावत र उपप्रमुख गुलियादेवी चौधरीलगायत गाउँघरमा खटिइरहने स्वास्थ्य स्वयम्सेविका, पालिकाका कर्मचारीलगायत सहभागी भएका थिए । सो अवसरमा नगर प्रमुख रावतले नमूना मतदानको अभ्यासलाई निरन्तरता दिन सकेमा आसन्न निर्वाचनमा बदर मत संख्या घट्ने बताए ।

निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले निर्वाचनमा बदर मत घटाउने र मतदातालाई मतदाता शिक्षा दिने उदेश्यले नमुना मतदान गरिएको बताएका छन् । उनले निर्वाचनमा मतदान गर्ने तरिका लगायतका विषयमा प्रकाश पारेका थिए ।

यही कात्तिक १८ गतेबाट कैलाली जिल्लाका सबै निर्वाचन क्षेत्रका वडा र टोलमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न १ सय २६ महिला स्वयम्सेवी परिचालन गर्न लागिएको छ । स्थानीय पालिकाहरुबाट निर्वाचन सम्बन्धी आवश्यक तालिम लिएका महिला स्वयम्सेवीलाई मतदाता शिक्षा कार्यक्रमका लागि परिचालन गर्न लागिएको हो ।