पाल्पाली टोलमा दम्पती मृत अवस्थामा फेला

काठमाडौँ । देवदह नगरपालिका वडा नम्बर ५ पाल्पाली टोलमा एक दम्पती मृत अवस्थामा फेला परेका छन् । आफ्नै घरको कोठामा भित्रबाट चुकुल लागेको अवस्थामा उनीहरूको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

३६ वर्षीय बालेन्द्र जोल्मी मगर र उनको श्रीमती ३२ वर्षीया हेमकला जोल्मी मगर आफ्नै घरमा सोमबार बिहान मृत भेटिएका हुन् ।

प्रहरीका अनुसार श्रीमती हेमकला भुईँमा पल्टिएको र श्रीमान् बालेन्द्र घाँटीमा सल बेरेर पङ्खामा झुन्डिएको अवस्थामा फेला परेका हुन । घटनाको प्रकृति हेर्दा श्रीमानले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशङ्का छ ।

श्रीमान् बालेन्द्र वैदेशिक रोजगारीबाट चार दिन अघि मात्रै घर फर्किएका थिए । छिमेकीहरूले आइतबारसम्म उक्त घरमा झैँ झगडा तथा होहल्ला गरेको केही थाहा नभएको बताएका छन् । बालेन्द्र र हेमकलाका ८ वर्षीय छोरा छन् ।