सुर्खेत कारागारबाट १ सय १ कैदीबन्दीले मतदान गर्ने

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचनमा जिल्ला कारागारका कैदीबन्दीले पहिलोपटक मतदान गर्न पाउने भएका छन् । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा कारागारका १ सय १ कैदीबन्दीले अस्थायी मतदाताका रुपमा भोट हाल्न पाउने कारागारका सूचना अधिकारी भुवन गौतमले जानकारी दिएका छन् ।

सूचना अधिकारी गौतमका  अनुसार कैदीबन्दीले प्रतिनिधिसभाको समानुपतिकतर्फ मात्रै मताधिकार प्रयोग गर्नेछन् । कारागार कार्यालयबाट २ सय २ जना कैदीबन्दीको नामावली निर्वाचन आयोगमा पठाइएकामा १ जनाको नाम मात्र मतदाता नामावलीबाट छुटेको उनले बताए । 

कारागारमै मतदान केन्द्र तोकिएकाले मतदान गराउन कारागारमै कर्मचारी पुग्ने निर्वाचन आयोगले जानकारी दिएको छ । विभिन्न कसुरमा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान गरिरहेका, मुद्दाको किनारा नलागी पुर्पक्षमा रहेका तथा बिगो÷जरिवाना तथा धरौटी तिर्न नसकी थुनामै रहेका गरी जिल्ला कारागारमा ३ सय ७२ कैदीबन्दी रहेका छन् ।

मतदाताको अन्तिम नामावलीमा नाम भएका र अस्थायी मतदाताका लागि तोकिएको अवधिभित्र विवरण पेस गरेकाहरु अस्थायी मतदाता बन्न पाउने व्यवस्था रहेको छ । कारागार कार्यालयका अनुसार ३ सय ३२ पुरुष, ४० महिला र आश्रित ४ जना बालबालिका रहेका छन् ।