को बन्दै छन् चुनावपछिको प्रधानमन्त्री ? तीन सम्भावना, दुई विकल्प

काठमाडौँ । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमोर्चाले आम चुनावपछि संयुक्त सरकार बनाउने घोषणा गर्दै चुनावी गठबन्धन गरेका छन् । तर आफ्नो बहुमत सुनिश्चित भएमा को प्रधानमन्त्री बन्छ भन्नेमा उनीहरू बीचमै एक मत छैन ।

चुनावी घोषणापत्रमार्फत कांग्रेस र माओवादी केन्द्र दुबैले सरकारको नेतृत्व गर्ने दाबी प्रस्तुत गरिसकेका छन् । एकीकृत समाजवादी चुनावी घोषणापत्रमा यसबारे मौन छ । तर, अवसर पाए सरकारको नेतृत्व गर्ने दाउमा अध्यक्ष माधवकुमार नेपाल छन् । प्रचण्डले सरकारको नेतृत्वको चाहना व्यक्त गरेका छन् भने कांग्रेसका तर्फबाट शेरबहादुर देउवा, शशांक कोइराला र गगन थापाले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेका छन् ।

मंगलबार काठमाडौंमा मतदाताहरूसँगको भेटमा कांग्रेस महामन्त्री गगन थापाले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्दै भोट मागे । ‘मंसिर ४ को चुनावपछि कुनै पनि पार्टीभित्र संसदीय दलको नेता चुन्न चुनाव हुनेवाला छैन । भयो भने एउटा नेपाली कांग्रेसमा हुन्छ । कांग्रेसमा पनि क्षेत्र नम्बर ४ बाट तपाईंले दलको नेतामा चुनाव लड्ने मान्छे जिताएर पठाए मात्र चुनाव हुने हो,’ उनले भने । सबैलाई परिवर्तन चाहिएको र त्यो परिवर्तन गर्ने ठाउँ महाधिवेशन र संसदीय दल भएको भन्दै उनले संसदीय दलको नेतामा शेरबहादुर देउवासँग संसदीय दलको नेता पदमा लड्ने प्रष्ट सन्देश दिएका छन् ।

तर, कांग्रेसका प्रवक्ता प्रकाशशरण महत कांग्रेसबाट भावी प्रधानमन्त्री शेरबहादुर देउवा नै भएको बताइरहेका छन् । गत मंगलबार हेटौंडामा नेपाल प्रेस युनियन मकवानपुरले गरेको पत्रकार सम्मेलनमा बोल्दै कांग्रेसका प्रवक्ता डा।प्रकाशशरण महतले भने, ‘‘शेरबहादुरजीले सबैलाई मिलाएर लैजानुभएको छ । १६५ सिटमा ९१ सिटमा कांग्रेस एक्लै छ, ७४ सिटमा बाँकी ४ दल छन् । नेतृत्वदायी भूमिकामा स्वाभाविक रुपमा नेपाली कांग्रेस हो भन्ने कसलाई थाहा छैन र १’

गठबन्धनभित्र सबैभन्दा बढी भाग लिएको र चुनावपछि पहिलो दल बन्ने लक्ष्य राखेको कांग्रेसले ‘लोकतन्त्र र संविधानको रक्षा, स्थायित्व र समुन्नतिको नेतृत्व गर्ने अभिभारा पुनः आफ्नो काँधमा आएको’ भन्दै चुनावी घोषणापत्र मार्फत् सरकारको नेतृत्वमा दाबी प्रस्तुत गरेको छ ।

माओवादी केन्द्रले अझ अगाडि बढेर आफ्नो दलको नेतृत्वमा सरकार बन्नुपर्ने बिभिन्न कारण राखेरै घोषणापत्रमा लेखेको छ, ‘हाम्रो पार्टीले राज्यको नेतृत्व गरे मात्र मूल कार्यभार पूरा गर्न सम्भव हुनेछ ।’

माओवादी केन्द्रले आफ्नो पार्टीबाट भावी प्रधानमन्त्रीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अघि सारेको छ । ‘माओवादी केन्द्रकै नेतृत्वमा किन रु’ शीर्षक नै लेखेर ब्याख्या गरेको माओवादीको घोषणापत्रमा ‘समाजवादको आधार, उज्यालो वाहक माओवादी सरकार १’ लगायतका नारा नै समावेश गरिएका छन् ।

प्रचण्डलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्दै घोषणापत्रमा प्रचण्ड नेतृत्वको सरकारले विगतमा गरेका कामहरू उल्लेख गरेको छ । किन प्रचण्ड नै प्रधानमन्त्री भन्ने प्रष्टीकरण दिँदै भनिएको छ, ‘गिरिजाप्रसाद कोइरालासँगै शान्ति प्रक्रियाको संयुक्त नेतृत्व गर्नुभयो, संविधान सभाद्वारा संविधान निर्माणमा प्रमुख नेतृत्वदायी भूमिका खेल्नुभयो, संविधान कार्यान्वयनको प्रक्रियाको नेतृत्व गर्नुभयो र प्रतिगमन विरोधी संघर्षको नेतृत्व गर्नुभयो ।’ प्रचार सामग्रीहरुमा पनि प्रचण्डलाई भावी प्रधानमन्त्रीकै रुपमा प्रस्तुत गरिएको छ ।

शीर्ष नेता मौन, विश्वासपात्रहरु मुखर

चुनावपछि गठबन्धन सरकार बनाउने साझा प्रतिवद्धतामा हस्ताक्षर गरेका तीन दलका शीर्ष नेता यसबीचमा मौन छन् । तर, देउवा, प्रचण्ड र माधव नेपालका विश्वासपात्रहरू नै चुनावपछिको सहकार्यबारे संयुक्त अपिलको भाव उल्लंघन हुने गरी सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् ।

एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले चुनावी घोषणापत्र सार्वजनिक गर्दा नै चुनावपछि पनि गठबन्धन कायम रहन्छ भन्न नसकिने बताए ।

१४ कात्तिकमा पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा अयोजित चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा महासचिव भुसालले भने, ‘यो निर्वाचनपछि यो गठबन्धन हुन्छ वा अर्को गठबन्धन हुन्छ । अहिले त्यो भन्न सक्ने वा भनिरहने विषय हो भन्ने मलाई लाग्दैन ।’ यसबाट अगाडि बढेर उनले अर्को गठबन्धन बने पनि आफूहरूले लिएको नीति र बाचा पूरा गर्ने प्रतिवद्धता जनाए ।

महासचिव भुसालले भनेका छन्, ‘यही गठबन्धन रह्यो भने यही गठबन्धनको सरकार बन्यो भने पनि हामी हाम्रा नीतिहरू कार्यान्वयनका निम्ति पहल गर्छौं । योभन्दा अर्को बन्यो भने पनि हामी पहल गर्छौं ।’

कतिपयले नयाँ समीकरणको सम्भावना देखेका छन् । यो सम्भावना एमालेले कति सिट प्राप्त गर्छ भन्ने विषयले पनि भावी सरकार कसको नेतृत्वमा भन्ने विषय निर्भर रहन्छ ।
२२ कातिकसम्म आइपुग्दा नेपाली कांग्रेसका महामन्त्री गगन थापा नै चुनावपछि गठबन्धन दल अलग हुन सक्ने त्रासमा रहेको भावमा बोलेका छन् । मंगलबार काठमाडौं ४ मा आयोजित मतदाताहरूसँगको अन्तरक्रियामा बोल्दै उनले सत्ता गठबन्धनले चुनाव जित्ने निश्चित भएको र पुसको पहिलो सातासम्म अर्को सरकार बन्ने उल्लेख गरे । यसैमा संशय मिसाए, ‘अहिले निर्वाचनको भन्दा पनि निर्वाचनपछिको चुनौती आइसकेको छ । मैले नेताहरूलाई भनिरहेको छु । हामी मंसिर ४ मात्रै होइन, म मंसिर ५ हेरिरहेको छु ।’

महामन्त्री थापाले अझ प्रष्ट शब्दमा भनेका छन्, ‘सँगै उभिएर पाँच वर्षका लागि मत मागेपछि हामीले मतदाताको इज्जत राख्नुपर्छ । केही महिनापछि आफ्नो निजी कुरालाई लिएर अर्कोसँग मिलेर सरकार बनाउँछौं भन्न पाइँदैन । त्यो बाटोमा लाग्यौं भने त्यो अपराध हुन्छ ।’

सम्भावित तीन विकल्प

सत्ता गठबन्धनमा रहेका नेताहरूका अनुसार भावी प्रधानमन्त्रीका विषयमा औपचारिक सहमति छैन । तर, पटक–पटक छलफल भएको छ । नेताहरूका अनुसार चुनावपछिको सरकारको सम्भावित दृश्यका सन्दर्भमा गठबन्धनका नेताहरूको कोर टिममा केही छलफल भएका छन् ।

पहिलो सम्भावना स् कांग्रेस पहिलो दल हुने सत्ता गठबन्धनकै अनुमानका आधारमा कांग्रेसले सरकारको दाबी गर्नु स्वाभाविक छ ।

दोस्रो सम्भावना स् प्रचण्ड प्रधानमन्त्री । प्रचण्डले प्रधानमन्त्री हुने चाहना व्यक्त गरेको र सोहीअनुसार चुनावी घोषणापत्र पनि ल्याएका छन् । आलोपालो प्रधानमन्त्री लिने गरी कांग्रेसले ३ वर्ष सरकारको नेतृत्व गर्ने गरी प्रचण्ड सुरुमै प्रधानमन्त्री बन्न सक्छन् ।

तर, कांग्रेस सभापति एवं वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको गठबन्धन बन्नु र यसको आधार तयार हुनुमा माधव नेपालको भूमिकाको मूल्याङ्कन हुनुपर्ने बताउँदै आएका छन् । यही तर्कमा टेकेर कतिपयले सुरुमै एक वर्षका लागि माधव नेपाल प्रधानमन्त्री बन्न सक्ने बताएका छन् । तर, प्रधानमन्त्री भएको दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने संवैधानिक व्यवस्था छ । यसकारण माधव नेपाल सुरुमै बन्ने आधार निकै कम रहेको स्वयं गठबन्धनमा रहेका नेताहरू बताउँछन् ।

तेस्रो सम्भावना : नयाँ समीकरण

कतिपयले नयाँ समीकरणको सम्भावना देखेका छन् । यो सम्भावना एमालेले कति सिट प्राप्त गर्छ भन्ने विषयले पनि भावी सरकार कसको नेतृत्वमा भन्ने विषय निर्भर रहन्छ ।

सत्ता गठबन्धनमा रहेका दलहरूले दुई तिहाइ मत ल्याए भने एमाले अध्यक्ष ओलीले संसदीय दलमा नदोहोरिएर सत्ता राजनीतिको दौडबाट विदा लिने निर्णय लिन सक्छन् । यो आंकलन स्वयं एमाले र गठबन्धनमा रहेका दलका नेताहरूले पनि गरेका छन् ।

एमालेकै एक नेता भन्छन्, ‘ओली संसदीय दलको नेताको रेसबाट बाहिरिन एमाले ६० भन्दा कम सिटमा सीमित हुनुपर्छ ।’ यस्तो स्थितिमा शंकर पोख्रेल वा विष्णु पौडेल, ईश्वर पोखरेल वा सुवास नेम्वाङ संसदीय दलको नेता बन्न सक्छन् । यी चार मध्ये जो संसदीय दलको नेता भए पनि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग तत्काल एकता हुन सक्छ । एकीकृत समाजवादीले संसद विघटनबारे चुनावी घोषणापत्रमा मौन रहेर पनि यसको संकेत गरेको छ । जबकी ओलीले गरेको संसद विघटन नै एकीकृत समाजवादीको जन्मको आधार हो ।

यसलाई समेत कांग्रेस र माओवादीले पनि ख्याल गरेको छ । माधव नेपाल बिना नै पनि सरकार बन्न सक्ने गरी सिट प्राप्त गर्ने गठबन्धनमा रहेका दलहरूको प्रयास छ ।

यसमा पनि कांग्रेसले दुई विकल्प देखेको छ ।

एउटा – माओवादी र कांग्रेसको सरकार ।

अर्को – ओली राजनीतिबाट बाहिर रहँदा कम्युनिस्टहरू फेरि एकताका लागि लालायित भए जसपा, लोसपा, साना, स्वतन्त्र, बागी र कांग्रेसको सरकार बनाउने ।

कांग्रेसले गठबन्धनबाट ९१ सिटमा उम्मेदवारी दिएको छ । समानुपातिक समेत गरी एक सय सिट बढी कांग्रेसले ल्यायो भने यो सम्भावना रहन्छ । अनलाइनखबरबाट