चुनावी नारामै सीमित झापाका पुल

काठमाडौँ । हरेक निर्वाचनमा नेताहरूको चुनावी नारा बनेका झापाका अधिकांश नदीहरूमा पक्की पुल र झोलुंगे पुल नबन्दा स्थानीयले वर्षौंदेखि सास्ती झेल्दै आएका छन्। ‘यस पल्ट पक्का नदीहरूमा पुल बनिहाल्छ’ भन्दै हरेक चुनावमा राजनीतिक दल र तिनका उम्मेदवारहरूले स्थानीय मतदाताहरूलाई एउटै आश्वासन दिँदै आए तापनि ती समस्याको अन्त्य अझै नभएको स्थानीयवासी बताउँछन्।

विशेषगरी झापाको दक्षिणी क्षेत्र भएर बग्ने मेची, बिरीङ, कनकाई, रतुवा र निन्दा नदी तर्न स्थानीयले बर्खायाममा जोखिमपूर्ण र हिउँदमा बाँसको पुलको सहारामा ओहोरदोहोर गर्नुपर्ने बाध्यता छ। साथै, डुंगा वा बाँसे पुल चढ्दा स्थानीयले चर्को शुल्क तिर्नुपर्ने समस्या पनि त्यस्तै छ।

भारतीय सीमा नाका जोडिएको कचनकवल गाउँपालिका–५ पाठामारी भएर बग्ने मेची नदीमा ६ वर्षदेखि निर्माणाधीन झोलुंगे पुल अलपत्र छाडेर ठेकेदार बेपत्ता छन्। आर्थिक वर्ष २०७२र०७३ मा ठेक्का लागेको झोलुंगे पुल नबन्दा त्यहाँका स्थानीय बर्खामा डुंगा र हिउँदमा बाँसे पुल चढ्दै आएका छन्। स्थानीय इन्तियाज आलमले कचनकवल गाउँपालिकाबाट डुंगा र बाँसे पुलको ठेक्का लिएर स्थानीयबाट रकम असुल्दै आएको छ। डुंगामा मोटरसाइकलको भारु ५०, साइकलको भारु ३० र मान्छेको भारु २० लिँदै आएको छ। बाँसे पुल बनिरहेकाले सो नदीमा अहिले पनि डुंगा चलिरहेको छ।

‘मेचीमा पुल नबन्दा यहाँका स्थानीयलाई धेरै समस्या छ’, स्थानीय कार्तिकलाल गणेशले भने, ‘नेताहरू आएर हेर्छ, अनि फर्किन्छ, उनीहरूको अरू काम नै के छ र ?’ उनले थपे, ‘चुनाव आउँदा गाउँ पस्ने नेताहरूको एउटै नारा छ, मलाई जिताउनुहोस् यस वर्षभित्र पक्का झोलुंगे पुल बनाइदिन्छौं।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन ललितपुरले निलगिरीरमहावीर जेभी काठमाडौंलाई २०७३ मंसिर १२ गते ठेक्का दिएको थियो। सो निर्माण कम्पनीले ३ करोड ६४ लाख रुपैयाँमा पुलको ठेक्का लिएको छ। पुलको लम्बाइ ४४२ दशमलव ४५ मिटर र चौडाइ ४ फिट रहेको सस्पेन्सन ब्रिज डिभिजनले जनाएको छ। ६ वर्ष बित्न लाग्दासमेत निर्माण कम्पनीका युवराज डाँगीले पुलको दुई वटा पिलर खडा गरी अलपत्र अवस्थामा छाडेपछि सस्पेन्सन ब्रिज डिभिजनका योजना प्रमुख भरत अर्यालले आफैं निर्माण स्थल पुगेर विषयवस्तु बुझेका छन्। निर्माण कम्पनीले अब पनि अधुरो काम पूरा नगरे कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउने योजना रहेको प्रमुख अर्यालले बताए।

कचनकवल गाउँपालिका–१ स्थित पिन्डलबारीको अवस्था पनि त्यस्तै छ। बिरीङ नदीमा निर्माणाधीन अवस्थामा रहेको झोलुङे पुल नबन्दा त्यहाँका जनताले पनि वर्षौंदेखि सास्ती झेल्दै आएका छन्। बर्खामा प्लालिस्टको ड्रम र बाँसले बनाएको डुंगा ९फेरी० अनि हिउँदमा बाँसे पुलबाट प्रयोग गर्नुपर्ने त्यहाँको समस्या छ। डुंगा र बाँसे पुल चढ्दा स्थानीयले पैसा तिर्नुपर्ने हुन्छ। मोटरसाइकलको ८० रुपैयाँ र साइकलसहित मान्छेको ३० रुपैयाँ स्थानीय तेजनारायण राजवंशीले असुल्दै आएका छन्। गाउँपालिकाले सहयोग नगर्दा पुल बनाएको खर्च उठाउँदै आएको उनले बताए। सस्पेन्सन ब्रिज डिभिजनले पनि बिरीङ नदीमा आर्थिक वर्ष २०७५र०७६मा झोलुंगे पुल बनाउन ठेक्का लगाएको थियो। सो पुलको ठेक्का बिएलटी निर्माण कम्पनीले लिएको हो। कम्पनीले एउटा पिलर अधुरो छाडेर काम ठप्प राखेको छ।

यस पल्ट नदीले धार परिवर्तन गर्दा ठेक्का लागेको पुलको टेन्डर रद्द गरी नयाँ प्रक्रियाबाट ठेक्का लगाउनु पर्ने अवस्था देखिएको योजना प्रमुख अर्यालले बताए। पहिला सानो लम्बाइको पुल बनाउन लागेकोमा अहिले लामो पुल बनाउने पर्ने देखिएको उनको भनाइ छ।

यता भद्रपुर– ३ स्थित भैसाबाडीबासीले पनि मेची नदीमा अस्थायी बाँसे पुल बनाउँदै आएका छन्। भारतीय बजार ओहोरदोहोरका लागि त्यहाँ स्थानीयले बाँसे पुल बनाउन लागेका हुन्। यो राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन र नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्र हो।

त्यसैगरी एमालेका केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा– ५ मा पनि स्थानीयलाई त्यस्तै समस्या छ। हुलाकी राजमार्ग जोड्ने गौरीगञ्ज गाउँपालिका–५ स्थित रतुवा नदीमा पक्की पुल नबन्दा त्यहाँका स्थानीयले बर्खायाममा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। अहिले नदीमा अस्थायी बाँसे पुल बनाइएको छ। बाँसे पुल तर्न मोटरसाइकलले १०० रुपैयाँ, साइकलसहित मान्छेको ५० रुपैयाँ र मान्छेको २० रुपैयाँ शुल्क तोकिएको छ।

नदीमा पक्की पुल बनाउने ठेक्का आर्थिक वर्ष २०६४/०६५ मा कालिका ओसिए जेभीले लिएको हो। ठेक्का लागेको पुल १५ वर्ष बितिसक्दा पनि अधुरै छ। निर्माण कम्पनीले १० करोड ३२ लाख ९१ हजार रुपैयाँमा पुलको ठेक्का लिएको हो। ठेकेदारले अहिलेसम्म नदीमा पुल आधा भाग पनि नढाक्ने गरी बनाएपछि स्थानीय समस्यामा छन्।

त्यस्तै, गौरीगञ्ज–३ स्थित नेहेरा खोलाको पक्की पुल पनि अधुरै छ। त्यहाँ काठको पुल बनाइएको छ। त्यहाँका स्थानीयले पनि जोखिमपूर्ण यात्रा गरिरहेका छन्। त्यस्तै प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका नेता लालप्रसाद सावाँ लिम्बु ९एलपी०को निर्वाचन क्षेत्र झापा ४ मा पनि दुई वटा पक्की पुल वर्षौंदेखि अलपत्र छन्। हुलाकी राजमार्गअन्तर्गतको कनकाई र बिरीङ नदीमा पुल नबन्दा त्यहाँका स्थानीय बर्खामा डुंगा र हिउँदमा बाँसे पुल प्रयोग गर्न बाध्य छन्। अन्नपूर्णष्टबाट