पर्यटकीय क्षेत्रमा आवश्यक पूर्वाधारको विकास नहुँदा ओझेलमा

काठमाडौँ । प्राकृतिक, धार्मिक पर्यटकीय क्षेत्र प्रशस्त छन् तर कतिपय पर्यटकीय क्षेत्रमा आवश्यक पूर्वाधारको विकास नहुँदा ओझेलमा परेका छन् । पर्यटकीय क्षेत्रमा पूर्वाधारको विकास गर्न गण्डकी प्रदेश सरकारले जिल्लामा यस वर्ष १ करोड १९ लाख बजेट विनियोजन भएको छ ।

हालै मात्र पर्यटन सम्बन्धका कामसमेत गर्ने गरी यसअघिको घरेलु तथा साना उद्योग कार्यालयलाई जिम्मा दिएको छ । तत्पश्चात् कार्यालयको नामसमेत पर्यटन तथा उद्योग कार्यालय राखिएको छ । यसै पर्यटन तथा उद्योग कार्यालय नवलपुरमार्फत् नवलपुरमा रहेका पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास गर्ने गरी १ करोड १९ लाख बराबरका योजना छनोट गरिएको छ ।

नवलपुरमा रहेका रहेका १७ वटा स्थानमा पर्यटकीय पूर्वाधार विकासमा काम गरिने पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख सागर खनालले बताए ।

चालु आर्थिक वर्षमा जिल्लाका १७ वटा पर्यटकीय गन्तव्यका लागि बजेट छुट्याइएको उनले बताए । “यसअघि हामीले पर्यटनको क्षेत्रमा काम हामीले गर्न सकेनौँ तर यस वर्ष कार्यालयको जिम्मेवारी थप गरी सोहीअनुसार बजेटसमेत आएको छ”, कार्यालय प्रमुख खनालले भनने, “यस वर्ष १७ वटा योजना छनोट भएका छन्, ती योजनामा पूर्वाधार विकासको काम गर्नेछौँ ।”

पर्यटकीय क्षेत्रको विकासका लागि विनियोजित बजेटका कार्यक्रममा धेरैजसो पदमार्ग निर्माणका योजना छन् । पर्यटकीयस्थलमा सहज आवतजावतका लागि पदमार्ग निर्माणलाई प्राथमिकता दिइएको कार्यालय प्रमुख खनालको भनाइ छ ।

प्रमुख खनालका अनुसार विभिन्न पार्कलाई आवश्यक पूर्वाधार निर्माण र व्यवस्थापनका योजना छन् । प्रत्येक योजनालाई न्यूनतम ५ लाखदेखि १० लाखसम्म विनियोजन गरिएका छन् । विनियोजन भएको बजेटअनुसारको काम अगाडि बढाउने तयारी गरिएको छ ।