म्याग्दीमा हस्ताक्षर नगरिएका मतपत्र फेला, मतगणना स्थगित

काठमाडौँ । म्याग्दीमा मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि मतगणना स्थगित गरिएको छ । मालिका गाउँपालिका–५ देवीस्थान केन्द्रको मतगणनाका क्रममा प्रतिनिधिसभा तर्फका एकसय २ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको फेला परेको हो ।

सूर्यको २४ रुखको ६५ र अन्य १३ वटा छाप भएको मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर छैन । गठबन्धनको हस्ताक्षर नभएको मतपत्रका बारेमा अनुसन्धान हुनुपर्ने माग गरेपछि मुख्य निर्वाचत अधिकृतको कार्यालयले प्रतिनिधिसभा तर्फको मतगणना स्थगित गरेको छ । धवलागिरि गाउँपालिकाका १ देखि ५ वडा सम्मको मतगणना गर्दा नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर)ले ५ हजार ३ सय ७० मत प्राप्त गरी अग्रता कायम गरेको छ । यसैगरी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ४ हजार ६ सय ४९ मत प्राप्त गरी गर्बुजालाई पछ्याएका छन् ।

प्रदेशसभा क्षेत्र नं २ तर्फ सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का रेशम जुग्जालीले ५ हजार १ सय ७४ मत प्राप्त गर्दा नेकपा (एमाले) का उम्मेदवार यामबहादुर गर्बुजाले ४ हजार ८ सय ५१ मत प्राप्त गरी पछ्याइरहेका छन् ।

सोमबार साँझखेखि थालिएको मतगणनामा आज बिहानसम्म धवलागिरि गाउँपालिकाका सबै वडा र मालिकको १ र ५ नं वडाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हस्ताक्षर नभएको मतपत्र फेला परेपछि गठबन्धन दलहरुले छानबिन र कारबाहीको माग गरेका छन् ।