गृहमन्त्री खाणले सत्ता र शक्तिको आडमा पनि किन जित्न सकेनन् चुनाव ?

काठमाडौँ । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट उम्मेदवार रहेका गृहमन्त्री बालकृष्ण खाण चुनाव जित्नेमा ढुक्क थिए। तर, निर्वाचनको अन्तिम परिणाम उनले सोचेको भन्दा फरक मत आएको छ ।

मनोनयन दर्तापछि अधिकांश समय निर्वाचन क्षेत्रमै केन्द्रित थिए गृहमन्त्री खाण। सत्ता र शक्तिमा रहेका दलले सरकारी स्रोत साधनको प्रयोग गरेर जनमत तान्ने प्रयासलाई यस पटक मतदाताले रोकिदिएका छन्। प्रधानमन्त्री देउवाको निकट बनेर सधैँ आफू र आफ्नालाई अवसर दिने नेता भन्ने आरोप खेपेका खाणलाई यो पटक नराम्रो धक्का लागेको छ।

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खाणलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहराले पराजित गरेपछि उनको संसदीय यात्रामा ब्रेक लागेको छ। आफैँ गृहमन्त्री रहेको बेला चुनाव हारेपछि उनी पार्टीमै संकटमा परेका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाममा बोहराले ३६ हजार ७ सय १७ मत पाउँदा खाणले ३४ हजार ३६ मत पाएका छन् । पञ्चायतकालदेखि रूपन्देहीमा चुनाव लड्दै आएका बोहराले २ हजार ६ सय ८१ मतान्तरले पहिलो चुनावी भेटमै खाणलाई रोक्न सफल भएको छ । खाण र बोहरा जिल्लामा प्रतिस्पर्धा गर्दै आएपनि आमने सामने भएको पहिलोपटक हो।

कांग्रेसको १४औँ महाधिवेशन, परिवारवाद, आफ्ना विवादित अभिव्यक्ति लगायतका कारण गृहमन्त्री खाण पराजित हुन पुगेको रुपन्देहीका कांग्रेस नेताहरुको भनाइ छ । पहिले संसदीय दलको प्रमुख सचेतकको भूमिकामा रहेका खाणलाई नेकपा विभाजन भई कांग्रेसको नेतृत्वमा सरकार बनेपछि प्रधानमन्त्री देउवाले नै गृहमन्त्री बनाएका थिए ।

गृहमन्त्री खाणले गत असोजमा आफ्नै निर्वाचन क्षेत्रमा एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गठबन्धनका कारण अरु दललाई सिट छाड्नुपर्ने हुनाले राजनीतिमा त्याग गर्न पनि सक्नुपर्ने अभिव्यक्ति दिएका थिए। आफ्नै श्रीमतीलाई समानुपातिकको बन्दसूचीमा राखेर नाम सार्वजनिक भएपछि उनी थप आलोचित भएका थिए। कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा मञ्जु खाणको नाम अगाडि नै छ।

रुपन्देही ३ मा सिद्धार्थ नगरपालिका, शुद्धोधन गाउँपालिकाका सबै वडासहित तिलोत्तमा नगरपालिकाका १३ र १४ वडा, बुटवल उपमहानगरका १४ देखि १९ वडा, सियारी गाउँपालिकाका १ देखि ७, मायादेवी गाउँपालिकाका ७ र ८ तथा ओमसतिया गाउँपालिकाको वडा नम्बर २ पर्छ। गत स्थानीय तहमा ओमसतीया बाहेक अरु पालिकामा कांग्रेसले जितेको थियो। पाँच दलिय गठबन्धन गरेर निर्वाचनमा गएपनि यसपटक गृहमन्त्री खाण सफल हुन सकेनन्।

निर्वाचनको अन्तिम समयमा खाणविरुद्ध बहुविवाहमा संलग्न रहेको भन्दै मुख्य निर्वाचन अधिकृत कार्यालयमा उजुरी परेको थियो। यसका साथै आफूले चुनाव जित्नकै लागि एमालेसँग मिलेर रुपन्देहीका अन्य कांग्रेस उम्मेदवारलाई हराएको आरोप पनि उनीमाथि छ।