मतगणना रोकिएका ठाउँमा के गर्ने ? आयोग नै अन्योलमा

काठमाडौँ । निर्वाचन सम्पन्न भएको ६ दिन बितिसक्दा पनि मतदान सम्पन्न भएका ठाउँको परिणाम आइसकेको छैन। केही स्थानमा शीर्ष नेता नै चुनाव धाँधली भएको भन्दै पुन मतदान गर्नुपर्ने मागमा उत्रिएका छन् ।

नेकपा एसका सम्मानित नेता झलनाथ खनालदेखि सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीसम्म पुन मतगणनाको मागमा उत्रिएका छन्। यसैगरी केही स्थानमा पुन मतदानको माग गर्दै नेताहरु आन्दोलनमा छन्। स्याङ्जा २, दोलखामा एमालेका नेताहरुले कांग्रेस र माओवादीले बुथ क्याप्चर गरेको आरोप लगाउँदै पुन मतदानको मागमा छन्।

कांग्रेस नेताहरु भने तत्काल मतगणना गर्न माग गर्दै धर्ना कसेर बसेका छन्। सबै क्षेत्रको परिणाम आउन ढिला भएपछि आयोगको पछिल्लो अपडेटअनुसार प्रतिनिधि सभाको निर्वाचनको १ सय ४५ ठाउँको अन्तिम मत परिणाम सार्वजानिक गरेको छ । बाँकी १५ ठाउँमध्ये केहीमा मतगणना भइरहेको छ भने केही ठाउँमा विवादका कारण मतगणना हुन नसकेको जानकारी दिएको छ ।

मतगणना नभएको स्थानमा आयोगले फेरी मतगणना गर्ने वा पुन निर्वाचन गर्ने भन्नेबारे आयोग नै अन्योलमा देखियो। यसबारे आयोगले अध्ययन गरिरहेको जानकारी दिएको छ। प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रमा आयोगले मंसिर ४ गतेका लागि निर्वाचन तय गरेको थियो।

दोलखा(१ र स्याङजा(२ मा भने निर्वाचन आयोगको टोलीले अध्ययन गरिरहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। ‘दोलखा र स्याङजामा आयोगले अध्ययन गरिरहेको छ। यसबारेमा अहिले केही निर्णय भएको छैन,’ उनले भने। बाजुरामा विवादका कारण स्थगित भएको बुढीनन्दा नगरपालिका(५ मा शनिवार मतदान भएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर ४ गते ८ दिनभित्र सबै ठाउँको परिणाम आइसक्ने बताएका छन् । दोलखामा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले धाँधली भएको भन्दै आयोगमा उजुरी दिएपछि आयोगको एक टोलीले त्यसबारे अध्ययन गरिरहेको हो। विवादका कारण स्थगन भएको गुल्मीको कालीगण्डकी गाउँपालिका–२ को भगवती मावि, अर्बेनी र सुर्खेतको सिम्ता गाउँपालिका–६ स्थित सिम्ता बहुमुखी क्याम्पसमा मंसिर ६ गते निर्वाचन सम्पन्न भएको थियो।