मनाङमा समानुपातिकमा बढी मत बदर

काठमाडौं । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ भन्दा समानुपातिकमा बढी मत बदर भएको छ ।

मनाङको हिमाली जिल्ला प्रत्यक्षतर्फ चुनाव चिन्ह कम र समानुपातिकमा चुनाव चिन्ह बढी हुँदा मतदाता अन्योलमा परेकाले मत बढी बदर भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी मनाङमा प्रतिनिधिसभा प्रत्यक्षतर्फ १९ मत बदर भएको छ भने समानुपातिकतर्फ ४९ मत बदर भएको बताए ।

उनका अनुसार प्रदेशसभा प्रत्यक्षतर्फ ६ मत बदर भएको छ भने समानुपातिकतर्फ ७४ मत बदर भएको छ । राजनीतिक दलको चुनाव चिन्हका कारण मतदातालाई छनोट गर्न समस्या हुँदा समानुपातिकतर्फ मत बढी बदर भएको हुनसक्ने शर्माको भनाइ रहेको छ ।

मनाङमा प्रतिनिधिसभा तर्फ ४ हजार ८ सय ४५ मत खसेको थियो भने प्रदेशसभा १ मा २ हजार २ सय १० मत खसेको थियो । प्रदेशसभा २ मा निर्विरोध भएकाले मतदान नभएको बताएका छन् ।