पानी ल्याउने विषयमा अन्योल’

काठमाडौं । महाकाली सिँचाइ आयोजनाको तेस्रो चरण अन्तर्गत बनेको मूलनहरमा पानी परीक्षण गरिए पनि नियमित गर्ने विषय टुङ्गोमा पुग्न सकेको छैन । गत असार १५ मा भारतीय पक्षले मूल नहरमा पानी छाडेको थियो ।

राष्ट्रिय गौरवको आयोजनामा समेटिएको सो आयोजनामा तेस्रो चरण अन्तर्गत हालसम्म २६ किलोमिटर मूलनहर बनिसकेको छ । महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इञ्जिनीयर शम्भु पण्डितले नहरमा नियमित पानी ल्याउने विषयमा भारतीय पक्षसँग कुराकानी नभएको बताएका छन् ।

शून्यदेखि २८ किलोमिटरसम्मको मूल नहर अन्तर्गत शाखा नहर निर्माणका लागि २ प्याकेजमा ठेक्का सम्झौता भइसकेको आयोजनाका इञ्जिनियर पण्डितले जानकारी दिएका छन् । उनले हाल निर्माणाधीन मूलनहरका केही स्थानमा प्राविधिक समस्या देखिएकाले सो विषयमा ध्याना दिइएको जानकारी दिएका छन् । गाउजी क्षेत्रको दोस्रो प्याकेजमा पर्ने जङ्गलक्षेत्रमा प्राविधिक समस्या हुँदा नहरमा नियमित पानी ल्याउने विषयमा कुरा भएको छैन र पानी ल्याएर कहाँ हाल्ने भन्ने विषयको पनि टुङ्गो नभएको बताए ।

पछिल्लो समय आयोजनाले गति लिएको इञ्जिनियर पण्डितको भनाइ छ । विसं २०७५ अघिसम्म मुआब्जा विवाद, बजेट अभाव लगायतका समस्याले जेलिएको थियो । विसं २०६४ देखि सुरु भएको आयोजना विसं २०७५ मा आइपुग्दा १२ किलोमिटर मूलनहर निर्माण भएको थियो ।

एक सय ५१ किलोमिटर मूलनहर निर्माण गरी कैलालीको मालाखेतीसम्म ३३ हजार ५ सय हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य लिएको आयोजनाले अहिले २८ किलोमिटरदेखि ४८ किलोमिटरसम्मको २० किलोमिटर मूलनहर निर्माणको प्रक्रिया अघि बढाइरहेको छ । मूल नहर निर्माणको स्टिमेट बनाएर स्वीकृतिका लागि सिँचाइ विभागमा पेस गरेका छौँं, उनले भने स्वीकृति आउनासाथ अरु प्रक्रिया अघि बढ्ने बताएका छन् ।

हाल ३ चरणमा निर्माण भइरहेको मूलनहरको पहिलो चरणमा साढे ५ किलोमिटर मूलनहरको काम सकिएको छ भने दोस्रो चरणमा ५ किलोमिटरको पनि ९० प्रतिशत सकिएको आयोजनाले जानकारी दिएको छ ।

त्यसैगरी तेस्रो चरणमा ५ किलोमिटरको ७५ प्रतिशत काम सकिएको र बाँकी निर्माण भइरहेको छ । आयोजना अघि बढाउनका लागि हाल १ अर्ब २४ करोड रकम विनियोजित छ । ४८ किलोमिटर शाखा नहर बनाउन ठेक्का भइसकेको छ र त्यसका लागि १ अर्ब बढीको ठेक्का सम्झौता भइसकेको बताएका छन् ।