भन्सार छलेर चुरोट र गुट्खा ल्याउने विरुद्ध मुद्दा

काठमाडौँ । राजश्व अनुसन्धान विभागले विदेशबाट भन्सार छलेर चुरोट र गुट्खा ल्याउने विरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको छ ।

विभागले पर्सा सखुवा पर्सौनी गाउँपालिकाका नवराज शर्मा भन्ने छविलाल अगस्तीविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो । अगस्तीले बिल बिजक तथा भन्सार प्रज्ञापन पत्र लगायतका कागजात नभएका विदेशी ब्रान्डका चुरोट र गुट्खा लगायतका मालवस्तु ल्याएर बिक्री गर्ने गरेका थिए । यस्तै, ती माल वस्तुको बिक्रीबापत हुने आयमा प्रचलित कानुन बमोजिम नेपाल सरकारलाई बुझाउनुपर्ने राजश्व समेत नबुझाउने गरेका थिए ।

भन्सार राजश्व र आय बापतको कर समेत नबुझाउने अगस्तीलाई राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, बमोजिम राजश्व चुहावट गरेको पाइएको हो । राजश्व चुहावटको कसुर पुष्टि हुन आएकाले बरामद भएको उक्त सामानको बिगो १ करोड ४० लाख ६४ हजार ६ सय ६८ रुपैयाँ र २० लाख रुपैयाँ अन्तशूल्क बिगो दाबी गरिएको छ ।

स्वास्थ्य जोखिम कर ३ लाख ५२ हजार ४ सय ४० मूल्य अभिवृद्धि कर २४ लाख ३४ हजार ३ सय ५७ रुपैयाँ गरी जम्मा २ करोड १४ लाख ९ हजार ५ सय १६ रुपैयाँ कर छलेको पाइएको हो । सोही रकम बराबरको सजाय रकम थपेर कूल ४ करोड ३२ लाख १९ हजार रुपैयाँ बिगो दाबीसहित विभागले मुद्दा दायर गरेको छ ।