प्रदेशसभा २ बाट कांग्रेसका शाही विजयी

काठमाडौं । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्ति मतपरिणाम अनुसार बाजुरा प्रदेशसभा २ बाट नेपाली कांग्रेसका पदमबहादुर शाही २० हजार १ सय १९ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । यसैगरी उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका लालबहादुर थापाले १७ हजार ५ सय २१ मत ल्याएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरा नवनिर्वाचित प्रदेशसभा सदस्य शाहीले एमालेका उम्मेदवार थापालाई २ हजार ५ सय ९८ मतले पराजित गरेका छन् । सो निर्वाचन क्षेत्रमा ५३ हजार ६ सय २६ मतदाता सङ्ख्या रहेको छ । तीमध्ये ३८ हजार ७ सय ९५ मत खसेको थियो ।

शनिबार बेलुकी कार्यालयले प्रदेशसभा–१ को मतपरिणाम सार्वजनिक गरिसकेको छ । प्रदेशसभा–१ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार नरेशकुमार शाहीले एमालेका उम्मेदवार बलदेव रेग्मीलाई पराजित गर्दै विजयी भएका छन् । प्रतिनिधिसभा सदस्यको मतगणना भने जारी रहेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिएका छन् ।