ह्वीलचियर प्रयोगकर्ताबीच मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता

काठमाडौं । नवलपरासी ९ बर्दघाट सुस्तापूर्वको देवचुली नगरपालिकामा देवचुली र पोखराका ह्वीलचियर प्रयोगकर्ताको मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ ।

५–५ जनाको समुहमा विभाजित २ समूहले ह्वीलचियरकै माध्यमबाट आफ्नो खेल प्रदर्शन गरेका थिए । खेलमा पोखराको समूह विजेता बनेको छ । ह्वीलचियर प्रयोगकर्ता पनि सवलाङ्ग व्यक्तिसरह सक्षम रहेको देखाउन प्रतियोगिता सञ्चालन गरिएको धवलागिरि अपाङ्ग उत्थान संस्था देवचुलीका अध्यक्ष घनश्याम सुवेदीले बताएका छन् ।

यसैगरी अपाङ्गता भएकाहरूले पनि सामान्यसरह जे पनि गर्न सक्छन् भन्ने देखाउन खेल खेलिएको हो, उनले भने सरोकारवाला निकायले उचित अवसरको व्यवस्था मिलाउन दबाब पुग्ने आशा लिएका छन् ।

सहभागीहरूलाई हौसला प्रदान गर्दै देवचुली नगरपालिका प्रमुख हरिप्रसाद न्यौपानेले अपाङ्गता भएकाहरूको हकहितका लागि आफू सदैव अगाडि हुने बताए । उनका भनाइ अनुसार स्थानीय सरकारले अपाङ्गतामैत्री सेवा प्रवाह गर्दै सीप र अवसर दिनुपर्छ भन्नेमा हामी प्रतिबद्ध छौँ ।