काठमाडौँ । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा प्रवेश गरेको छ । निर्वाचन सकिएसँगै नयाँ संसद बैठक कहिलेदेखि सुरु हुन्छ भन्नेमा निकै चासो बढेको छ ।
निर्वाचन आयोगले समानुपातिक तर्फका सांसदहरुको समेत टुङ्गो लगाएर नव निर्वाचित प्रतिनिधिसभा सदस्यहरूको विवरण संघीय संसदलाई उपलब्ध गराउने व्यवस्था रहेको छ । प्रत्यक्ष तथा समानुपातिक तर्फको अन्तिम मतपरिणाम एक–दुई दिनभित्रमा आइसक्ने आयोगको भनाइ छ ।
आयोगले नवनिर्वाचित सांसदहरुको विवरण पठाएको केही दिनभित्रै विशेष कार्यक्रम राखेर सांसदहरुको सपथ गराइने संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिएका छन् ।
सांसदहरुलाई संसदमा रहेका सदस्यहरू मध्ये जेष्ठ सदस्यले सपथ गराउनेछन्, त्यसअघि उनले राष्ट्रपतिबाट सपथ लिने व्यवस्था रहेको छ । सांसदहरुले सपथ लिएर पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख निर्वाचित गर्ने व्यवस्था रहेको छ । सांसदहरुको सपथ कहिले गर्ने भन्नेबारेमा अझै निश्चित भइनसकेको प्रवक्ता डा. पाण्डेको भनाइ छ ।
Add Comment