पूर्व प्रम भट्टराईको शालिकमा माल्यार्पण गर्दै प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक कृष्णप्रसाद भट्टराईको ललितपुरस्थित भट्टराई आश्रम बाँडेगाउँमा रहेको शालिकमा माल्यार्पण गरेका छन् ।

प्रधानमन्त्री देउवा भट्टराईको ९८ औँ जन्मोत्सवको अवसर पारेर आयोजित भागवत महापुराण यज्ञमा सहभागी भए । सोमबार ललितपुरको बाँडेगाउँस्थित सन्तनेता स्वर्गीय भट्टराईको निवासमा आयोजित सो महायज्ञमा प्रधानमन्त्री देउवा सहभागी भएको हो ।

सो अवसरमा उनले महायज्ञमा पूजापाठ गरी प्रसाद ग्रहण गर्दै सन्त नेता भट्टराईको सालिकमा माल्यार्पण समेत गरे ।

कांग्रेसका संस्थापक नेता, पूर्वप्रधानमन्त्री एवम् नेपालको पहिलो सभामुख भट्टराईलाई नेपाली राजनीतिका सादा जीवन र उच्च विचारको नेताको रूपमा लिइन्छ । उनको राजनीतिसँगै आध्यात्मिक क्षेत्रमा पनि विशेष रुचि रहेको थियो । महायज्ञमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, पूर्वमन्त्री शरदसिंह भण्डारीलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।