माधव नेपालसहित १४ निवर्तमान सांसदको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका निवर्तमान १४ सांसदसम्बन्धी मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ । अग्राधिकार प्राप्त उक्त रिट सोमबार न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयाँलको इजलासमा परेको थियो ।

अघिल्लो प्रतिनिधिसभामा सांसद रहेका माधवकुमार नेपालसहित १४ सांसदको पद बहाल रहने कि नरहने भन्नेसम्बन्धी विवादमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । आफूले कारबाही गरी पार्टी र सांसद पदबाट बर्खास्त गरिसकेका व्यक्तिलाई संसद सचिवालय र सभामुख अग्निप्रसाद सापकोटाले अर्को पार्टीको नामबाट सांसद पदको मान्यता दिएको भन्दै एमालेले सर्वोच्चमा रिट दर्ता गराएको थियो ।

अध्यक्ष ओलीले आफ्ना वरिष्ठ नेता माधवकुमार नेपालसहितका १४ सांसदलाई निष्कासनसम्मको कारबाही गरेको भएपनि उनीहरूको पद कायम राख्दै उनीहरूकै हस्ताक्षरबाट नयाँ पार्टी दर्ता भएको नमिलेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७८ चैत ३० गते सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।

सोमबार न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयाँलको संयुक्त इजलासमा रहेको सो मुद्दामा लुम्बिनी प्रदेशका तत्कालीन सांसद तथा सभामुख पूर्णबहादुर घर्ती लगायतलाई विपक्षी बनाई दायर भएको रिट पनि लगाउमा राखिएको थियो । पेसी सूचीको २२ नम्बरमा रहेको उक्त रिट हेर्न नभ्याइने सूचीमा परेको हो । सोमबार १ नम्बर सूचीमा रहेको दुईवटा मुद्दाको मात्रै सुनुवाइ गरेर अरू सबै मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो ।