बाराही हाइड्रोपावको आइपिओ खुला

काठमाडौँ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गरेको हो ।

कम्पनीले प्रति शेयर १ सय अङ्कित दरका कूल ५ लाख ५४ हजार कित्ता शेयर निष्कासन गरेको छ । यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याएको २ लाख ५० हजार कित्ता शेयरमा १ लाख ४६ हजार कित्ता तोकिएका बासिन्दालाई बाँडफाँट गरी बाँकी १ लाख ४ हजारसहित कूल ५ लाख ५४ हजार कित्ता शेयर सर्वसाधारणमा निष्कासन गरिएको हो ।

कम्पनीद्वारा निष्कासित शेयरमा २७ हजार ७ सय कित्ता सामूहिक लगानी कोष र ११ हजार ८० कित्ता कम्पनीका कर्मचारीलाई बाँडफाँट गरी बाँकी ५ लाख १५ हजार २ सय २० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सकिने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ ।

सार्वजनिक आह्वानपत्र अनुसार सर्वसाधारण लगानीकर्ताले यही मङ्सिर २६ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे आगामी पुस ६ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन पाइने उल्लेख छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत तथा मेरो शेयर को वेबसाइट र मोबाइल एपमार्फत पनि आवेदन दिन सकिनेछ । शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई ईक्रा नेपालले ‘ईक्राएनपी– आईआर बी माईनस’ ग्रेडिङ प्रदान गरेको छ ।

कम्पनीले बागलुङको जैमिनी नगरपालिका वडा न. १, ४ र ५ मा पर्ने ठेउले खोलामा १.५ मेगावाट क्षमताको ठेउले खोला जलविद्युत् आयोजना निर्माण गरेको छ ।