मेयरकै घरमा चल्यो डोजर

काठमाडौँ । विराटनगरमा मेयर नागेश कोइरालाकै घरमा डोजर चलेको छ। जथाभावी निर्माण गरिएका अवैध संरचना हटाउने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाका मेयर कोइरालाको भाडामा लगाएका घरमा सञ्चालन गरिएका पसलबाट डोजर चलाउन थालिएको हो।

विराटनगर–९ जलजला रोडस्थित पसल सञ्चालकले सटरअगाडि आफूखुसी निर्माण गरेका अवैध संरचना बुधबार हटाइएको छ। महानगर कार्यालयअगाडि रहेका पसलका अवैध संरचना पनि डोजर लगाइएको छ।

महानगर प्रहरीका निरीक्षक राजन पौडेलको नेतृत्वमा डोजरसहित पुगेको टोलीले पसलअगाडि निर्माण गरिएका ‘सेटब्याक’लगायतका अवैध संरचना हटाएको हो।

नगर प्रहरीले जथाभावी झुण्ड्याइएका होडिङ बोर्डसमेत हटाएको थियो। मेयर कोइरालाले भाडामा लगाइएका आफ्नै घरअगाडि बनाइएका अवैध संरचना हटाइएको र फुटपाथ खाली गराइएको जानकारी दिएका छन् ।

उनका अनुसार विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बजार क्षेत्रमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको हो। उनले ३५ दिने सूचना जारी गर्दा पनि व्यापारीहरूले अटेर गरेपछि बल प्रयोग गर्नु परेको जानकारी दिए।

‘परिवर्तन आफैँबाट सुरु गर्नुपर्छ भन्ने भनाइलाई चरिचार्थ गर्दै मेरै घरमा रहेका पसल सञ्चालकले बनाएका अवैध संरचना हटाएर अभियान सुरु गरेका छौं। प्रदेश १ को राजधानी विराटनगरलाई अब यथास्थितिमा राख्न हुँदैन,’ कोइरालाले भने, ‘यसलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने हाम्रो उदेश्य छ। विराटनगरलाई व्यवस्थित बनाउने अभियानमा साथ दिन महानगरवासीलाई आग्रह गर्दछु।’

महानगरले विराटनगर बजार क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाउन र फुटपाथ खाली गराउन अभियानलाई तीव्रता दिएको छ। बजार क्षेत्रभित्र सौन्दर्यकरण, दुर्घटना न्यूनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै गत कात्तिक ३ गते सार्वजनिक सूचना जारी गरिएको थियो।

सार्वजनिक सूचना जारी र पटक–पटक माइकिङ गर्दा पनि व्यापारीहरूले अवैध संरचना हटाउन अटेर गरेपछि महानगर ‘एक्सन’मा गएको मेयर कोइरालाले बताए। अभियानअन्तर्गत मेयर कोइरालाको घरमा सञ्चालित पसलका साथै महानगर कार्यालयअगाडि रहेका पसल, वडा नम्बर ९ को वडा कार्यालय, बुधहाट चोकस्थित ‘बी प्लट’का पसलमा निर्माण गरिएका अवैध संरचना हटाइएको छ।

मेयर कोइरालाले जभाभावी फोहोर गर्ने र बजारको सौन्दर्यकरणमा ह्रास आउने काम गर्नेलाई तत्काल कारबाही गर्ने अधिकार सफाई शाखाका प्रमुख पुनम दाहाल र नगर प्रहरीका प्रमुख राजन पौडेललाई दिइसकेका छन्। अभियानलाई निरन्तरता दिएर अवैध संरचनारहित विराटनगर बनाउने योजना रहेको महानगर प्रहरीका निरीक्षक पौडेलले बताए।

महानगरले यसअघि १९ वटै वडामा सरसफाई विशेष अभियान, सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेविजविरुद्धको खोप लगाउनेलगायतका अभियान सुरु गरिसकेको छ। महानगरले सुरु गरेको अभियानलाई नागरिक समाजले पनि साथ दिएको छ।