ओलीले बुझाए १८ लाख ८२ हजार चुनाव खर्च

काठमाडौँ । झापाका् क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिमार्फत मङ्गलवार चुनावी खर्च विवरण बुझाएका छन् । अध्यक्ष ओलीले चुनावी प्रचार सामग्री छपाइ, यातायात, खाजा खाना, सम्पर्क कार्यालय स्थापना र सञ्चालनलगायत गरी विभिन्न शीर्षकमा १८ लाख ८२ हजार ५० रुपैयाँको चुनावी खर्च विवरण बुझाएका सूचना अधिकारी न्यौपानेले बताएका छन् ।

झापाका ५ निर्वाचन क्षेत्रबाट ९४ जना प्रतिनिधिसभा र ९८ जना प्रदेशसभा गरी १ सय ९२ जना उम्मेदवारमध्ये बुधवार दिउँसोसम्म ७३ जनाले चुनावी खर्च विवरण बुझाएको निर्वाचन कार्यालयका सूचना अधिकारी प्रकाश न्यौपानेले जानकारी दिएका छन् । जसमा ४० जना प्रतिनिधिसभा र ३३ जना प्रदेशसभा सदस्यतर्फका उम्मेदवार रहेका छन्।

अहिले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा उठेका उम्मेदवारहरूले जिल्ला निर्वाचन कार्यालय झापामा धमाधम चुनावी खर्च विवरण बुझाउन थालेका छन्। जिल्लाबाट निर्वाचित ५ जना प्रतिनिधिसभा र १० जना प्रदेशसभा सदस्यमध्ये हालसम्म ३ जनाले मात्र चुनावी खर्च विवरण बुझाइसकेका छन्।

सो क्षेत्रमा प्रतिनिधिसभा सदस्य उम्मेदवारले ३१ लाख रुपैयाँ चुनावमा खर्च गर्न पाउने प्रावधान थियो। त्यस्तै झापा ५ (२) बाट प्रदेश सांसदमा एमालेबाट निर्वाचित होमबहादुर थापा र झापा १ (२) बाट प्रदेश सांसदमा राप्रपाबाट निर्वाचित सबिना बजगाईंले चुनावी खर्च विवरण बुझाएका छन्।

थापाले १२ लाख १८ हजार ९ सय ३० र बजगाईंले ६ लाख ४८ हजार ५ सय ९० रुपैयाँ ३७ पैसा चुनावी खर्च बुझाएको उनले बताए। झापा १ (२) मा १५ लाख र ५ (२( मा १७ लाख चुनावमा खर्च गर्न पाउने प्रावधान थियो।

निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र उम्मेदवारहरूले आफ्नो चुनावी खर्च विवरण बुझाइसक्नु प्रावधान छ। सो म्यादभित्र खर्च विवरण नबुझाए निर्वाचन आयोगले जरिवाना गर्ने जानकारी दिएको छ ।