तनहुँमा पुरुष फुटबल प्रतियोगिता हुँदै

काठमाडौं । व्यास नगरपालिका–१ भादगाउँस्थित दोभान युवा क्लबले जिल्लामा सवाधिक राशिको खुला पुरुष फुटबल प्रतियोगिताको आयोजना गरेका छन् ।

यही मङ्सिर २९ देखि आगामी पुस ७ गतेसम्म दोस्रो दोभान तथा प्रथम राजेन्द्र स्मृति कप २०७९ को आयोजना गरिएको आयोजकले जानकारी दिएका छन् । प्रतियोगितामा प्रथम हुने टोलीलाई २ लाख ५हजार ५ सय पचपन्न, दोस्रो हुनेलाई १ लाख १५ हजार ५ सय पचपन्न प्रमाणपत्र, मेडल र कप प्रदान गरिने क्लबका सचिव सुमन बस्नेतले बताएका छन् ।

त्यसैगरी अनुशासित टोलीलाई ८ हजार, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई ५ हजारका दरले नगद तथा प्रमणपत्रका साथमा मेडल प्रदान गरिने बताए ।

यस्तै उत्कृष्ट खेलाडीलाई ७ हजार ५ सय र म्यान अफ द म्याचमा १ हजार ५ सय तथा प्रमाणपत्र र मेडल प्रदान गरिनेछ । खुला सेभेन ए साइड पुरुष फुटबल प्रतियोगितामा १५ टोलीले दर्ता गरिसकेको क्लबका उपाध्यक्ष कृष्णबहादुर दरैले जानकारी दिएका छन् ।

विसं २०५५ मा दर्ता भएको यस क्लबले समाजमा स्वास्थ्य, सरसफाइ, शिक्षा र सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रमका साथै खेलकूदका माध्यमबाट समाज र देशका लागि योग्य खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि भन्ने मूल नाराका साथ आयोजित उक्त फुटबल प्रतियोगिता व्यास–३ बिपी वनबाटिकामा हुने आयोजक समितिले बताएको छ ।

प्रतियोगितामा ९ लाख २७ हजार १ सय १० खर्च हुने र ८ लाख ७ हजार १ सय दश अपुग रहेको क्लबका अध्यक्ष नलबहादुर दरैले जानकारी दिएका छन् । उनका अनुसार उक्त प्रतियोगितालाई सफल बनाउनका लागि नगरपालिका, वडा कार्यालय, स्थानीय टोल विकास संस्था, आमा समूह, व्यवसायी र शुभेच्छुकसँग सहयोगको अपेक्षा गरिएको छ ।

प्रतियोगितामा सहभागी हुन चाहनुहुने टोलीले मङ्सिर २८ गते बेलुकी ५ बजेसम्म दर्ता गरि सक्नुपर्ने क्लबले जानकारी दिएको छ ।