खुल्ला मञ्चमाथि अतिक्रमण, सटर नभत्काए आन्दोलन


काठमाडौं , वैशाख । काठमाडौं महानगरपालिका वडा नं. २८ मा पर्ने खुल्लामञ्च यतिखेर भूमाफियावहरुको चंगुलमा परेको छ । पुरानो वसपार्कमा २५ तल्ले काठमाडौं टावर बनाउने ठेक्का लिएको मनोज भेटवालले महानगरपालिकाका केही उच्च कर्मचारीसँगको मिलेमतोमा खुल्ला मञ्चभित्र अस्थायी टहरा बनाएपछि अभियन्ताहरु खुला मञ्च बचाउने अभियनमा लागेका छन् ।
‘काठमाडौँ उपत्याकामा रहेका खाली जग्गा भू माफियाले अतिक्रमण गरेका समाचार विविध सञ्चार माध्यमबाट आएको र खुला मञ्चको खाली जग्गा पनि अतिक्रमण भएको छ। यो विषयमा हामीले महानगरपालिकालाई यसअघि पनि विभिन्न माध्यमबाट ध्यानाकर्षण गराएको कुरा स्मरण गराउन चाहान्छौँ’, ध्यानाकर्षणापत्रमा भनिएको छ, ‘काठमाडौँ जस्तो सहरी क्षेत्रमा खुला ठाउँको महत्व कस्तो हुन्छ भन्ने कुरा हामीले चार वर्षअघि गएको भूकम्पका बेला थाहा नै पायौँ। तत्कालीन समयमा सहरी क्षेत्रमा खाली ठाउँ राख्नुपर्ने विषयमा धेरै सरोकारवाला निकायले छलफल गराएको पनि स्मरण गराउन चहान्छौँ।’
महानगरपालिकाले काठमाडौँ उपत्यकामा खाली ठाउँको विकास गर्नुपर्नेमा, भएको ठाउँलाई पनि अतिक्रमण गरेको उनीहरुको आरोप छ। ‘खुलामञ्चको उत्तर दिशामा पलस राख्ने उद्देश्यले सटर निर्माण गर्ने कार्य भइरहेको छ’, सुसन वैद्यले हस्ताक्षर गरेको ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘केहीमा पसल सञ्चालनमा आइसकेको जानकारी आएको छ।’
वैद्य संयोजकको समितिले खुला क्षेत्र अतिक्रमण नगर्न अनुरोध गर्दै यो काम रोक्न हस्तक्षेप गर्न मेयरलाई आग्रहसमेत गरेको छ। अभियान्ताले अतिक्रमण नरोकिए चरणबद्ध आन्दोलनको चेतावनीसमेत दिएका छन्।