ऐना पहरालाई पर्यटकीय गन्तव्य बनाइँदै

काठमाडौं । आँबुखैरेनी गाउँपालिका कार्यालयले पृथ्वीराजमार्ग खण्डमा पर्ने ऐना पहरालाई पर्यटकीय गन्तव्य बनाउन लागेका छन् । आँबुखैरेनी वडा नं २ र ४ को सिमानामा रहेको ऐना पहरामा ऐना पार्क बनाएर पर्यटन प्रवद्र्धन गर्न बताएका छन् ।

चालू आर्थिक वर्षमा १ करोड ४० लाख विनियोजन गरेर आर्कषक पार्क बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिएका थिए। बहुबर्षीय योजनाअन्तर्गत गाउँपालिकाको आफ्नै स्रोतमा साहसिक खेल, सिसाको ब्रिज, जीपलाइन, स्वीमिङ पुल, ढुङ्गामा आर्कषण मूर्ति निर्माणलगायतका संरचनाका लागि डिपिआर गरी प्रक्रिया अघि बढाइएको उनले बताए ।

५ करोड लाग्ने अनुमान अनुरुप गौरवको आयोजनामा राखेर काम गर्न लागेको गाउँपालिका कार्यालयले बताएको छ । त्यस्तै पृथ्वीराजमार्ग भएर दैनिक सयौँं सवारीसाधान गुड्ने हुँदा पर्यटकलाई आर्कषण गर्न सकेको अवस्थामा आयआर्जन गर्न सकिने प्रचूर सम्भावना देखिएको छ ।

त्यसैगरी गाउँपालिकाले वडा नं ६ को हिलेखर्क र वडा नं १ को गिरौनचौरलाई नमूना पर्यटकीय गाउँ घोषणा गरी बजेट विनियोजनगरेका छन् । २ वडाका गाउँलाई ३० लाखका दरले ६० लाख बजेट विनियोजन गरेर प्रक्रिया अघि बढाएका छन् । कार्यविधि बनाएर मौलिक प्रकृतिका घरको संरक्षण गरिने अध्यक्ष चुमानले जानकारी दिएका छन् ।

उनले भने त्यहाँ रहेका घुमाउने घर गुरुङ समुदायको कलासंस्कृति पर्यटकका लागि आर्कषण बन्नसक्ने विश्वास गरेको बताएका छन् । उक्त स्थानमा अब बन्ने घर पनि मौलिक किसिमका हुने बताए ।