खहरे खोलाको पानी ल्याउन श्रमदान

काठमाडौं । चितवनको खहरे खोलाको पानी ल्याउन भरतपुर महानगरपालिका–१ रामनगरका स्थानीय श्रमदानमा जुटेका छन् । खहरे खोलाको पानी रामनगर, ठिमुरा र देवघाट क्षेत्रमा ल्याउने योजनाका साथ स्थानीयवासी १ सातादेखि श्रमदानमा जुटेको बताएका छन् ।

भरतपुर महानगरपालिका–१ अन्तर्गत पर्ने रामनगरका बासिन्दाले शुद्ध पानी पिउन नपाएको वर्षौ भइसकेको बताए। पानी ल्याउन ट्याङ्की र पाइप बिच्छयाउनका लागि झण्डै पाँच किलोमिटर क्षेत्रमा झाडी सफा गर्ने काम सकिएको छ ।

रामनगरमा खानेपानी ल्याउनका लागि चितवन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानले १० दिनअघि श्रमदान अभियानको सुरुआत गरेका थिए । सहजरुपमा पानी खान नपाएको समस्या थाहा पाएपछि सांसद लामिछानेले रामनगरमा खानेपानी व्यवस्थापनका प्रतिनिधि र स्थानीयसँग छलफलसमेत गरेका थिए ।

विसं २०४९ चैतमा नेपाल र जापान सरकारको सहकार्यमा भरतपुर खानेपानी विस्तार आयोजनाको सुरुआत भएको थियो । त्यसबेला रामनगरमा ४ पानी ट्याङ्की निर्माण गरेका थिए । जुगेडीबाट पानी उक्त क्षेत्रमा ल्याएर भरतपुरका विभिन्न स्थानसम्म वितरण हुने बताए । द्वन्द्वकालपछि धेरै संरचना नष्ट भएपछि खानेपानी ट्याङ्की क्षेत्र झाडीमा परिणत भएको थियो र अहिले सोही ठाउँमा सरसफाई गर्दै खानेपानीका लागि पहल भइरहेको जानकारी दिएका छन् ।

यसैगरी स्थानीय सीता भट्ट नगरवासीको मुख्य समस्या पानीको रहेको बताउछिन । उनले भनिन इनारको पानी खान बाध्य छौँ । हाल दैनिक १ सय जना जनश्रममा जुटेका उनले बताइन् । स्थानीय राधा कुँवर र भोलादेवी कुँवर गुप्ता पनि घरको काम छाडेर जनश्रममा जुटेको बताएकी छिन् ।