बुढीगण्डकी परियोजना निर्माण कार्य सुरु गर्न पहल : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय गौरवको जलाशययुक्त बुढिगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य तत्काल सुरुवात गर्न पहल गरिने पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् ।

धादिङ र गोरखा जिल्लाका जनप्रतिनिधिसँगको भेटघाटमा दाहालले धादिङ र गोरखासँगै सिंगो मुलुकको भविष्यसँग जोडिएको बुढीगण्डकी परियोजनाको कार्यलाई नयाँ बन्ने सरकारले प्राथमिकतामा राखेर कार्य अगाडि बढाउने बताए ।

यसैगरी आयोजनाको बारे धादिङ र गोरखाका जनप्रतिनिधिको साझा धारणा सार्वजनिक गर्न आयोजनाकै सेरोफेरोमा कार्यक्रम राख्न धादिङबाट निर्वाचित सांसद रामनाथ अधिकारी र गोरखाबाट निर्वाचित सांसद राजेन्द्र बजगाइँलाई आग्रह गरेका थिए ।

धादिङ क्षेत्र नम्बर २ का सांसद रामनाथ अधिकारीका अनुसार योजनालाई प्राथमिकतामा राखेर काम गर्न एक द्रूत कार्यान्वयन मार्गचित्र बनाउन आयोजनकै सेरोफेरोमा एकता गोष्ठी गर्ने र त्यस अनुसार यसको निर्माण कार्य तत्कालै शुरुवात गर्न, आयोजनाबाट प्रत्यक्ष रुपमा विस्थापित नागरिकको पूनर्वास कार्यक्रम सुरुवात गर्न र मुआब्जा वितरणमा देखिएको त्रुटिलाई तत्काल सच्याउनको लागि आवश्यक पूर्वप्रधानमन्त्री दाहालसँग परामर्श गरेका थिए ।

उनका अनुसार अब बन्ने संघीय सरकारले यो आयोजनालाई द्रूत गतिमा अगाडि बढाउनको लागि आवश्यक ऐन कानुन निर्माण गर्र्न तथा बजेट विनियोजन गराउने कार्यको लागि सदनमा मुख्य भूमिका निर्वाह गर्ने प्रतिबद्धता गोरखा र धादिङबाट निर्वाचित जनप्रतिनिधिको रहेको जानकारी दिएका छन् ।

त्यस्तै दाहालसँगको भेटघाटमा धादिङ र गोरखाका स्थानीयतहका जनप्रतिनिधिको उपस्थिति रहेका थिए ।