सवारी दुर्घटनामा मृत्यु भएकामध्ये १३ जनाको नाम सनाखत

काठमाडौँ । काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका–४ चलालगणेशस्थान सल्लाफेदमा भएको सवारी दुर्घटनामा मृत्यु भएकामध्ये १३ जनाको नाम पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार दुर्घटनामा मृत्यु भएका १७ जनामध्ये १३ जनाको मात्रै सनाखत भएको जानकारी दिएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले दुर्घटनामा बनेपा नगरपालिका–११ सल्लेका सबैभन्दा बढीको मृत्यु भएको बताए । उनका अनुसार मृत्यु हुनेमा बनेपा नगरपालिका–१४ का राजकुमार तामाङ, निर्मला तामाङ, बनेपा नगरपालिका–११ का योगेश तामाङ, बनेपा नगरपालिका–११ का आकुर तामाङ, बनेपा नगरपालिका–११ का आकुर तामाङकी श्रीमती हेमा तामाङ, बनेपा नगरपालिका–११ का पुष्कर तामाङ, बनेपा नगरपालिका–११ की कोपिला तामाङ, बनेपा नगरपालिका–११की कोपिला तामाङकी ६ वर्षीया छोरी श्रेया तामाङ रहेका छन् ।

उक्त दुर्घटनामा मण्डनदेउपुर नगरपालिका–१ की जेली तामाङ, ललितपुर महाँकाल गाउँपालिका घर भई हाल पनौती– ४ बस्ने बस चालक सन्तोष तिमल्सिना, धुलिखेल नगरपालिका–११ का बु्द्ध तामाङ, बेथानचोक गाउँपालिका–५ की मञ्जु तामाङ र बनेपा नगरपालिका–१४ की गीता श्रेष्ठ रहेको प्रहरी उपरीक्षक जोशीले बताए ।

प्रहरी जोशीले मृतक अन्य चारको सनाखत हुन बाँकी रहेको बताए । दुर्घटनामा २२ जना घाइते भएकोमा धुलिखेल अस्पतालमा ९ जना, शिर मेमोरियल अस्पतालमा ७ जना र अन्य ५ जनालाई भक्तपुर र काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको बताएका छन् ।

प्रहरी उपरीक्षक जोशीले घाइतेमध्ये शिरमेमोरियल अस्पतालमा उपचाररत सन्तबहादुर तामाङ डिस्चार्ज भएको बताए । बनेपा नगरपालिका– ११ सल्लेबाट बेथानचोक गाउँपालिका–५ च्याल्टी झाँक्रीडाँडाका मुलु्क वाइवाको छोराको व्रतबन्ध (छेवर) को निम्तो मानेर पनौतीतर्फ आउँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस मङ्गलबार साँझ ६ः२७ बजे दुर्घटना भएको थियो ।