श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान समेत २ जना पक्राउ

काठमाडौँ । आफ्नै श्रीमती ३० वर्षीया रिंकु कुमारीको हत्या गरेको आरोपमा वीरगंज महानगरपालिका–२७ जसौली बस्ने ३४ वर्षीय कुशल दास समेत २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

दासकी श्रीमती आफ्नै घर अगाडीको सडकमा टाउको किचिएर रगताम्मे अवस्थामा शव फेला परेको थियो । उक्त घटनाको थप अनुसन्धान गर्न खटिएको जिल्ला प्रहरी कार्यालय पर्सा, अस्थाई प्रहरी पोष्ट उदयपुर घुर्मी र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले हत्केलामा करेन्ट लागेजस्तो पोलेको दाग देखिएपछि शंका लागि कुशललाई नियन्त्रणमा लिई सोधुपछ गर्ने क्रममा कुशलले श्रीमती पर(पुरूषसँग लागेको आशंकामा करेन्ट लगाई हत्या गरेको खुल्न आएको छ ।

हत्या पश्चात कुशलले आफ्नै भाई २८ वर्षीय भरत दासलाई ना.३ च ६२४७ नम्बरको बोलेरो गाडी ल्याउन लगाई गाडीले मृतकको टाउकोमा किचेको समेत अनुसन्धानबाट खुल्न आएको छ । वारदातमा प्रयोग भएको ना.३ च ६२४७ नम्बरको गाडीलाई वीरगंज महानगरपालिका–१७ अलौस्थित शिवम ह्याचरीभित्र लुकाइ छिपाइ राखिएको अवस्थामा बरामद गर्नुका साथै कुशलको भाई भरतलाई समेत प्रहरीले पक्राउ गरेको छ ।