बर्दिया कारागारका कैदी नेपालगञ्ज बजारमा

बर्दिया, जेठ । कारागारमा कैद भुक्तान गरिरहेका कैदी–बन्दीलाई बर्दिया कारागारले नियमविपरीत बजार घुम्न अनुमति दिएको घटना सार्वजनिक भएको छ ।

बर्दियाको गुलरिया कारागारमा कर्तव्य ज्यान मुद्दाको सजाय भुक्तान गरिरहेका रवि पुन शुक्रबार दिउँसो नेपालगञ्जबाट पक्राउ परेसँगै कारागारभित्रको विकृति सार्वजनिक भएको हो ।

गुलरिया कारागारभित्र नियमविपरीतका गतिविधि हुने गरेको गुनासो सुनिए पनि कैदी नै बजार घुम्न निस्किएको घटना यसअघि सुनिएको थिएन ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले कैद भुक्तान गरिरहेका पुनलाई पक्राउ गरिएको स्वीकारे । बास्तोलाका अनुसार नेपालगञ्ज बजार घुम्दै गरेको अवस्थामा पुनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।