काठमाडौं, जेठ । नक्कली लालपुर्जाका आधारमा मालपोत कर्मचारीले चन्द्रागिरी नगरपालिकास्थित ९२ रोपनी सरकारी जग्गा हाउजिङ कम्पनीको नाममा पास गरिदिएको तथ्य खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी त्यसमा संलग्न मालपोत कर्मचारीसहित सातजनाविरुद्ध गत सोमबार विशेष अदालतमा मुद्दा दायर गरेपछि सो तथ्य बाहिर आएको हो ।
मालपोत कार्यालय कलंकीका तत्कालीन मालपोत अधिकृत शिवप्रसाद रिमाल र नायब सुब्बा हरिप्रसाद आचार्य, नक्कली जग्गाधनी मीनाकुमारी थापा, सुयल हाउजिङ कम्पनीका सञ्चालक रामकुमार सुयल थापाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार नक्कली जग्गाधनी मीनाकुमारीको वारेस दिपेन्द्रविक्रम शाह, अधिवक्ता बाबुराम शर्मा रेग्मी र अधिवक्ता योगेन्द्र पोखरेलविरुद्ध पनि मुद्दा दायर भएको छ । तत्कालीन बाडभन्ज्याङ गाविस–३ स्थित पाताल तथा ठोट्नेखोला र चिसापानी सामुदायिक वन उपभोक्ता समूहले उपभोग गरिरहेको सरकारी जग्गा सुयल हाउजिङ कम्पनीका नाममा पास गरिएको हो । सरकारी मूल्यांकनअनुसार सो जग्गाको मूल्य दुई करोड २१ लाख १० हजार रुपैयाँ रहेको आयोगले जनाएको छ ।
Add Comment