भाग्यमानीको भुतै कमारो, जसको नागरिक माथि छानविन उही गृहमन्त्री!

काठमाडौं । भाग्यमानीको भुतै कमारो भन्ने उखान रवि लामिछानेको जीवनमा मेल खाएको छ । दोहोरो नागरिकता र पासपोर्टको विवादमा छानविनमा परेको रवि लामिछाने पार्टी खोलेको ७ महिनामा नै देशको उपप्रधान तथा गृह मन्त्री बनेर छलाङ्ग मारेका छ ।

नागरिकताको छानविन गरिरहेको गृह मन्त्रालय मातहतका निकायले अव आफ्नो गृहमन्त्रीको तथ्य बाहिर ल्याउनलाई निक्कै हम्मे हम्मे पर्ने छ । लामिछानेले गृह जस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका छन् र उनकै मातहतका निकायले उनको नागरिकमाथि छानविन गर्ने आँट गर्ने छैनन् ।

गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्ने बित्तिकै सामाजिक संजाल प्रयोगकर्ताले लामिछानेलाई निर्मला पन्तका हत्यारा पत्ता लगाउने,भ्रष्टाचार निर्मूल पार्ने, गुण्डागर्दी हटाउने,देशको शान्ति सुरक्षा मजबुद पार्ने जस्ता काम गर्न सुझाव दिएका छन् । तर उनी आफै छानविनको घेराभित्र रहेको गृहमन्त्री बन्न पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी २० सीटसहित प्रतिनिधि सभामा चौथो ठूलो दल बनेको छ । पुराना र बृद्ध नेताहरुलाई राजनीतिबाट बिदा गर्नु पर्छ भन्दै आएका लामिछाने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उपप्रधान एवं गृहमन्त्री बन्न सफल भए । तिनै बुढा नेताहरुको आर्शिवाद लिँदै आफूले आफैलाई छानविन गर्ने मन्त्रालयका पाएका छन् । गृहमन्त्री लामिछानेले आफ्नो नागरिकताका बारेमा कति दिनमा वास्तविकता बाहिर ल्याउने हुन् त्यो भने हेर्न वाँकी छ ।