प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडाैँ ।  प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सर्लाही जिल्ल्काे कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्याम किशोर राय, इन्जिनियर रामविनय प्रसाद यादव, सब-इन्जिनियर उमेशकुमार दास, अधुरो रमजानकी मन्दिर निर्माण कार्य उपभोक्ता समितिका अध्यक्ष रामभरोसी मण्डल धानुक, सचिव बालमेश्वर साह कलवार र कोषाध्यक्ष रिना कुमारीविरुद्ध मुद्दा दायर भएको दावी छ ।

विलासी नगरपालिका-८ स्थित अधुरो रमजानकी मन्दिर निर्माणमा वास्तविक कामभन्दा बढी काम देखाएर गलत बिल बनाएर हिनामिना गरेको भन्ने अख्तियारमा उजुरी परेको थियो।

ठेक्का बिल र कार्यसम्पन्न प्रतिवेदनमा पनि  फिल्डमा वास्तविक रूपमा भएको कार्यभन्दा बढी मूल्याङ्कन गराई भुक्तानी लिएको खुलेको हो। उनीहरूले ९७ हजार ८ सय ४० रुपैयाँ बढी रकम भुक्तानी गरी भ्रष्टाचार गरेको आरोप छ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार  ६ जनाविरुद्ध काठमाडौँस्थित विशेष अदालतमा बिहीबार मुद्दा दायर भएकाे हाे ।

अनुसन्धान हुँदा फिल्डमा कम काम भएकोमा बढी काम भएको भनेर नापी किताब मूल्याङ्कन गरी चढाएको पाइएको अख्तियारकाे दाबी छ ।