नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडाैँ ।  शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार दोहोरो अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.२६ अङ्कले उकालो लागेर २ हजार ४६.२९ मा पुगेको छ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७२ अङ्कले उकालो लागेर ३ सय ९४ .०२ मा पुगेको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा ११ उपसमूहको भने शेयर मूल्यमा वृद्धि भएको छ।

नेप्सेका अनुसार कारोबार भएका कूल कम्पनीमध्ये १ सय २१ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ। त्यस्तै ८७ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा चार कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन। कूल १ करोड ८ लाख ८० हजार ९ सय ४ कित्ता शेयर ४ अर्ब चार करोड ८८ लाख ७९ हजार पाँच सय १० मूल्यमा खरिद बिक्री भए।

साताको पहिलो दिनको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब ५९ अर्ब ४१ करोड ७५ लाख ४३ हजार दुई सय ३२ बराबर रहेको छ। कारोबारका आधारमा नवील बैङ्क शीर्ष स्थानमा छ। सो बैङ्कको रु २२ करोड ५७ लाख ४८ हजार नौ सय ७९ बराबरको कारोबार भएकाे छ ।

नेप्सेका अनुसार सृजनशील लघुवित्त, खप्तड लघुवित्त, धौलागिरि लघुवित्तको शेयर मूल्यमा १० प्रतिशत बराबरको वृद्धि भई सकारात्मक सर्किट लाग्यो। यस्तै अजोड इन्स्योरेन्स नौ दशमलव ९८ र प्रभु लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ९. ९८ प्रतिशतले कमाएका छन्।

यस्तै, सिद्धार्थ इक्विटी फण्ड ५.५७, नेपाल बैङ्कको ऋणपत्र ३.९२, एनआरएन इन्फ्रास्टकचर एण्ड डेभलपमेन्ट लिमिटेड ३.८४, मिथिला लघुवित्त ३.६९ र रिभर फल्स पावरका लगानीकर्ताले ३.६५ प्रतिशतले गुमाएका छन्।