कालीकोटमा चिसो निकै बढेपछि यात्रुहरुलाई समस्या

काठमाडौँ । कालीकोटमा चिसो निकै बढेपछि केही स्थानीय तहका विद्यालय समेत बन्द भएका छन् । आउजाउ गर्न समेत कठिन भइरहेको बताएका छन् ।

रास्कोट नगरपालिका –८ का सुना सुवेदी घरबाट सदरमुकाम आउँदा ५ देखि सात ठाउँसम्म आगोको साहारा लिनुपरेको बताए । दिनमा घाम लागेको छ, तर हावा पनि उतिकै चलेकाले चिसो हुँदा गाडी रोकेर यात्रुले आगो ताप्ने गरेको उनले सुनाएका थिए ।

यसैगरी जिल्लाभरि एक शैक्षिकसत्र अर्थात् वर्षातको समयमा मात्र बिदा गर्ने पालिकाहरूले निर्णय गरे पनि चिसोका कारणले तिलागुफा नगरपालिकले हिउँदे बिदालाई निरन्तरता दिनुपरेको र नगरपालिका शिक्षा शाखामा कार्यरत विद्यालय निरीक्षक नवीन हमालले जुम्लासँग सीमा जोडिएको र यो समयमा बग्ने पानी समेत जम्न थालेपछि विद्यालय बन्द गर्नुको विकल्प नभएको बताएका छन् ।

चिसो बढेकाले जिल्ला प्रशासन कार्यालयले समेत सचेत हुन सार्वजनिक सूचना अनुसार कालीकोटमा तापक्रम माइनस ५ रहेको छ । प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले चिसो देशभरि बढिरहेकाले सूचनाअनुसार जिल्लामा पनि सचेत हुन सूचना जारी गरिएको बताएका छन् ।चिसोका कारणले जिल्लाका तिलागुफा नगरपालिका भित्रका सबै विद्यालय माघ १५ गतेसम्मका लागि बन्द भएका छन् ।