इँटाभट्टा नजिक शङ्कास्पद अवस्थामा शव बरामद

काठमाडाैँ । औरही नगरपालिका –७ स्थित इँटाभट्टा नजिक एक व्यक्ति शङ्कास्पद मृत्यु भएको अवस्थामा शव फेला परेको छ । औरही नगरपालिका ७ स्थित एमटीएल इँटाभट्टामा रहेको परालको छाप्रोभित्र स्थानीय ५२ वर्षीय इन्द्रदेव झाको शङ्कास्पद मृत्यु भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जानकारी दिएकाे छ ।

सोमबार साँझ घरबाट निस्केका झाको शव मंगलबार फेला परेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीको प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले बताए ।  फेला परेको शवको प्रकृतिले झाको हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

मृतक झा धेरै पहिल्यैदेखि सोही इँटाभट्टामा बस्दै आएका थिए । बायाँ एउटा आँखा फुटेको र घटना स्थलको प्रकृति हेर्दा कसैले हत्या गरेर शव त्यहाँ राखेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

शवको पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे थप जानकारी आउने र घटना विषयमा यकिन साथ भन्न सकिने प्रहरी उपरीक्षक पङ्गेनीले बताए ।  मृतक झाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वरमा पठाइएका उनले बताए ।

“मृतक झा प्रायः जसो मदिरा सेवन गर्ने व्यक्ति रहेको र अहिलेसम्म कोहीसँग त्यस्तो रिसिबी समेत देखिएको छैन ।”  “तथापि घटना शङ्कास्पद रहेकाले घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पङ्गेनीले  बताए ।