काठमाडौँ । अवैधरुपमा लागुऔषध बिक्री तथा ओसारपसार गर्दा प्रहरीले लागुऔषधसहित १० जनालाई पक्राउ गरेका छन । नियन्त्रणका लागि काठमाडौँको सीमानाकामा प्रहरीले उच्च निगरानी बढाएका छन् । उनीहरू प्रहरीले खानतलासी थालेपछि नागढुङ्गाबाट भाग्दै गर्दा पक्राउ गरेका हुन् ।
उनीहरुको साथबाट खैरो हेरोइन ७४ ग्राम, नाइट्राभेट ४ हजार ५ सय ट्याब्लेट र १ सय ५५ दशमलव ५ ग्राम चरेस बरामद गरेको प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौँका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिएका छन् । उनका अनुसार उनीहरुको साथबाट नुफ्रिन १ हजार एम्पुल, डाइजेपाम १ हजार एम्पुल र फेनारगन पनि १ हजार एम्पुल बरामद गरिएको छ ।
पछिल्लो केही दिनदेखि लागुऔषध कारोबार तथा तस्करी नियन्त्रण र अनुसन्धानमा खटिएको प्रहरी टोलीले उपत्यकाका विभिन्न नाकामा खोजी अभियान चलाउँदा लागुऔषधसहित पक्राउ परेका उनीहरूलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको खड्काले बताएका छन् ।
प्रहरीका अनुसार काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ लालीगुराँस टोल बस्ने सुजन कार्कीको साथबाट तीन सय मिलीग्राम र डेराबाट ६७ दशमलव ७ ग्राम गरी जम्मा ६८ ग्राम खैरो हेरोइनसहित २ थान तराजु बरामद गरेका थिए । अनुसन्धानका क्रममा उनलाई प्रदीप राइले लागुऔषध बिक्री गर्न पठाएको खुलेको थियो । उनी झापामा रहेको थापा पाएपछि ब्यूरोको काँकडभिट्टा शाखाले पुस १८ गते पक्राउ गरी काठमाडौँ पठाएका छन् ।
सोही दिन साँझ विशेष सूचनाका आधारमा ब्यूरोको अर्को टोलीले काठमाडौँ महानगरपालिका–९ शम्भु मार्गमा खोजी अभियान चलाउँदा धनुषाका रेश्मा देवीको साथबाट छ ग्राम खैरो हेरोइन बरामद गरी उनलाई पक्राउ गरिएको ब्यूरोले जानकारी दिएको छ ।
सोही दिन ठूलो परिमाणको लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो । पर्यटकलाई पिछा गर्दै गर्दा ‘टुर गाइड’मा काम गर्ने गोरखाका ओमनारायण श्रेष्ठ, मसाज सेन्टरमा काम गर्ने सुरेन्द्र नेपाली र विकास परियारलाई पक्राउ गरिएको ब्यूरोले बताएका छन् ।
त्यस्तै लुकाइछिपाइ लागुऔषध ओसारपसार गरेको चाल पाएको नेपाल प्रहरीको संयुक्त टोलीले काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना६ख ७०३६ बसमाथि खानतलासी गर्दा वीरगञ्जका ५० वर्षीय सविना खातुन, सहनाज खातुन र शेष अमिरलाई पक्राउ गरेको थियो ।
काठमाडौँको गोकर्णेश्वरबाट रोशन श्रेष्ठ र मनोज लामालाई पनि लागुऔषध कोडिनसहति पक्राउ गरिएको र उनीहरुको सन्दर्भमा प्रहरीवृत्त बौद्धले अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।
Add Comment