काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राजनीति नेतृत्व र कर्मचारी वर्ग इमान्दार एवं कर्तव्यनिष्ठ हुनुपर्नेमा जोड दिएका छन् ।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान जिपिटिएद्वारा सञ्चालित कर्मचारी सेवाकालिन तालिमको आज आयोजित समापन समारोहमा उनले राजनीतिक नेतृत्व र कर्मचारी वर्गको इमान्दारिता एवं कर्तव्यनिष्ठताले नागरिकका धेरै अपेक्षा पूरा हुने बताएका छन् ।
परिवर्तनको अनभूति नागरिकलाई दिलाउन निरन्तर मेहनत गर्नुपर्ने उनको भनाइ रहेको छ । राजनीतिक नेतृत्वले लिएको सिद्धान्तलाई कार्यान्वयन गर्न कर्मचारीतन्त्र लाग्नुपर्नेमा जोड दिँदै उनले निजामती कर्मचारी कुनै पनि शासन व्यवस्थाको ऐना हो भने ।
सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउनकै लागि गण्डकी प्रदेश सरकारले कर्मचारीका लागि नियमितरुपमा तालिम सञ्चालन गरेको मुख्यमन्त्री पोखरेलले बताए । सङ्घीयता कार्यान्वयनका सिलसिलमा केन्द्र सरकारसँग धेरै विमति रहेको उल्लेख गर्दै उनले प्रहरी समायोजनमा विलम्ब, निजामती कर्मचारी ऐन ल्याउन आलटाल गरेर प्रदेशलाई कमजोर बनाउन खोजिएको बताएका छन् ।
मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोला, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रामप्रसाद आचार्यलगायतले तालिमबाट वृत्ति विकासका साथै व्यक्तिगत क्षमतामा समेत सुधार हुने विश्वास व्यक्त गरेका छन् ।
प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले अधिकृतस्तरका कर्मचारीका लागि थालेको ३० दिने तालिममा कार्यालय सञ्चालन तथा व्यवस्थापनका बारेमा सैद्धान्तिक व्यवहारिक पक्षका विषयमा प्रशिक्षण दिइएको बताए ।
कर्मचारीको ज्येष्ठता, प्रदेश र स्थानीय तहमा समायोजन भएको मितिलगायत विषयलाई आधार मानी तयार पारिएको मापदण्डअनुसार कर्मचारी छनोट गरिएको उनले जानकारी दिएका छन् । तालिमका लागि ५ सयभन्दा बढी इच्छुक रहे पनि ६० जना छनोटमा परेको र ५६ जना तालिममा सहभागी भएको उक्त अवसरमा जानकारी गराएका थिए ।
Add Comment