सियोमा पनि विदेशकै भर

काठमाडौं, असार । आयात निरुत्साहन र निर्यात प्रोत्साहनको नीति लिएको छ वर्तमान सरकारले । तर सियोसमेत विदेशबाट आयात गर्नु परि रहेको छ । नेपालले अहिलेसम्म सियो उत्पादन गर्न सकेको छैन । सियो जस्तो ‘मामुली’ चिज पनि बिदेशबाट आयात गरिरहनु परेको छ ।

ओली अहिले दुईतिहाई बहुमतप्राप्त सरकारका शक्तिशाली प्रधानमन्त्री भएको डेढ वर्ष भयो तर देश सियोमा समेत आत्मनिर्भर बन्न सकेको छैन ।

नेपालमा आजसम्म सियो उत्पादन गर्ने उद्योग स्थापना भएको कुनै रेकर्ड उद्योग विभाग तथा मन्त्रालयसँग छैन । चालू आर्थिक वर्षको एघार महिनामा नेपालले २२ हजार ५ सय ७८ केजी सियो विश्वका विभिन्न सात देशबाट आयात गरेको छ । कपडा सिलाउन प्रयोग गरिने हाते सियो, कलमा प्रयोग गरिने र उनीको कपडा बुन्न प्रयोग हुने ठूलो सियो विभिन्न देशबाट आयात गरिँदै आएको छ ।

चालू आर्थिक वर्षमा ७७ लाख रुपैयाँको सियो नेपालले आयात गरेको छ । भारत चीन, दक्षिण कोरिया, फ्रान्स, इटाली, थाइल्याण्ड र स्वीट्जरल्याण्डबाट समेत नेपालमा सियो आयात हुन्छ । नेपालमा सबैभन्दा धेरै सियो निर्यात गर्ने मुलुक भारत हो । यो आर्थिक वर्षको एघार महिनामा सबैभन्दा बढी भारतबाट र सबैभन्दा कम स्वीट्जरल्याण्डबाट नेपालमा सियो भित्रिएको छ ।

यसबाहेक चीनबाट १४ लाख ७७ हजार, दक्षिण कोरियाबाट ११ लाख ३७ हजार, फ्रान्सबाट ७ लाख ९९ हजार, इटालीबाट १ लाख ५८ हजार, थाईल्याण्डबाट ३० हजार र स्वीट्जरल्याण्बाट ५ हजार रुपैयाँ बराबरको सियो नेपालले आयात गरेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष सियो आयात १० लाख रुपैयाँले बढेको छ । अघिल्लो वर्ष नेपालले १७ हजार ७२१ केजी सियो आयात गरेको थियो । कुल ६७ लाख ६९ हजार रुपैयाँ सियो आयातका लागि बाहिरिएको भन्सार विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्ष पनि सबैभन्दा धेरै सियो भारतबाट नै भित्रिएको थियो भने अमेरिका र जर्मनीबाट समेत सियो आयात भएको थियो ।

नेपाल उद्योग बाणिज्य महासंघ अन्तर्गतको उद्योग समितिका अध्यक्ष अञ्जान श्रेष्ठ सियो उत्पादन गर्ने मेसिनमा पर्ने लगानी अनुसार बजार नभएका कारण व्यवसायीले यस उद्योगमा हात नहालेको बताउँछन् ।

ताजा अपडेट