फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नेपाल एयरलाइन्सले उडान भर्ने

काठमाडौँ । निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान हुने भएको छ ।

नेपाल एयरलाइन्सले सो विमानस्थलबाट साप्ताहिक उडान भर्न लागेको हो । यसबारे सैद्धान्तिक सहमति भइसकेको इलाम नगरपालिकाले जानकारी दिएको छ ।

इलाम नगर प्रमुख केदार थापाले आगामी माघ १ गतेबाट नै नियमित उडानका लागि पहल भइरहेको जानकारी दिए । यसअघि पनि इलाम नगरपालिकाले पैसा तिने सर्तमा  विमानस्थलबाट तारा एयरले उडान भरेको थियो । सम्झौता मिति सकिएसँगै उडान बन्द भएको थियो ।

यस विमानस्थलबाट प्रायः सबै उडानमा यात्रु आउने गरेका थिए । ताराले उडान बन्द गरेसँगै इलामबाट उडान भएको छैन । भरसक सस्तो मूल्यमा नै उडान गराउन पहल गरिने इलाम नगरपालिकाले जानकारी दिएको छ । यसका लागि उचित मूल्य निर्धारण गर्न नेपाल वायुसेवा निगमसमेत लाग्नेमा आफूहरु विश्वस्त रहेको नगर प्रमुख थापाको भनाइ छ ।

काठमाडौँबाट करिब एक घण्टाको उडान अवधिमा इलाम उडान गर्न सकिने यसअघि नै तारा एयरले बताएको थियो । सो विमानस्थलको ६ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको छ । धावन मार्गसमेत पक्की भइसकेको छ । विमानस्थलको घेराबारा र टर्मिनल भवन निर्माणका लागि रकम विनियोजन भइसकेको जनाइएको छ ।