माघ महोत्सवमा थारू समुदायका साँस्कृतिक पहिचान

काठमाडौँ । माघी पर्वको अवसरमा नेपालगञ्जमा सञ्चालन भएको लुम्बिनी प्रदेशस्तरीय माघ महोत्सवमा थारू समुदायका कलाकारले साँस्कृतिक पहिचान झल्काएका छन् ।

माघी पर्वलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थरुहट तराई क्षेत्रमा बस्ने थारू समुदायले स्थान विशेषका आधारमा माघ /माघी /तिला संक्राइत/ खिचरार/खिचरी खिचडी आदि नामबाट हर्षोल्लासपूर्वक मनाउँदै आइरहेका छन् ।

पुर्व झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर,सिरहा,धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सामा बसोबास गर्ने थारू समुदायले तिलासंक्राइत, मध्य चितवनका थारू समुदायले खिचरा, नवलपरासी, रुपन्देहीका थारू समुदायले खिचरीरखिचडी तथा दाङ,सुर्खेत,बर्दिया,कैलाली कन्चनपुर लगायतका हामी थारू समुदाय यसलाई माघ पर्वको रुपमा मनाउने गरेका छन् ।

माघ १ गतेका दिन सबेरै उठेर नजिकैको नदी, तलाउमा नुहाएर पूजापाठ गर्ने प्रचलन रहेको छ । यसैगरी एकअर्कालाई भेटघाट गरेर शुभकामना आदानप्रदान गर्नाका साथै ढिक्री, मासुलगायत परिकार खाएर पर्व मनाउने गरिन्छ । पर्वको दोस्रो दिन नयाँ वर्ष रहेकाले सबैसँग मीठो बोल्ने, खराब आचरण त्याग्नेलगायतको शुभकार्य सुरुवात गर्ने प्रचलन थारु समुदायमा छ ।