वाणिज्य बैंकले ब्याजदर घटाउँदै

काठमाडौँ । वाणिज्य बैंकहरूले माघमा ब्याजदर घटाउने भएका छन् । बुधबार बसेको वाणिज्य बैंकहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घको बैठकले माघ महिनाका लागि बैंकहरूले १ दशमलव १३ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको सङ्घले जानकारी दिएका छन् ।

हाल वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा १२ दशमलव १३३ प्रतिशत र संस्थागततर्फ ९ दशमलव १३३ प्रतिशत ब्याज तोकेका छन् । रेमिट्यान्स मुद्दति खातामा १५ दशमलव ३३३ प्रतिशतसम्म ब्याज रहेको बताएका छन् । माघमा भने बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा ११ प्रतिशत र संस्थागततर्फ नौ प्रतिशत ब्याज तोकेको र रेमिट्यान्स मुद्दति खातामा १२ प्रतिशत ब्याजदर तोकेका छन् ।

बैंकर्स सङ्घको अध्यक्षमा सुनिल केसी चयन भएका छन् । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृतमा केसी सर्वसम्मतरूपमा अध्यक्षमा चयन भएका हुन् ।

बुधबार सम्पन्न विशेष साधारणसभाले नयाँ अध्यक्षमा केसीलाई सर्वसम्मतरूपमा चयन गरेका थिए । यसअघि प्रमुख कार्यकारी अधिकृत केसी सङ्घको उपाध्यक्ष रहेका थिए । यसअघिका अध्यक्ष अनिलकुमार उपाध्याय कृषि विकास बैंकबाट बाहिरिएसँगै सङ्घको अध्यक्ष पद खाली भएको बताएका थिए ।

प्रमुख कार्यकारी अधिकृत कार्यकाल सकिएपछि सङ्घको अध्यक्ष पदसमेत स्वतः रिक्त रहने व्यवस्था रहेको र नयाँ कार्यसमितिअन्तर्गत बैंकर्स सङ्घको उपाध्यक्षमा माछापुच्छ्ररे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला सर्वसम्मत चयन भएका छन् ।

यसैगरी सङ्घको कार्यकारी सदस्यमा लक्ष्मी बैंकका अजयविक्रम शाह, नेपाल एसबिआई बैंकका दीपककुमार दे, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, एनआइसी एसिया बैंकका रोशनकुमार न्यौपाने, एभरेष्ट बैंकको सुदेश खालिङ र सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा रहेका छन् ।