गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौँ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभामा विश्वासको मत लिदै छ । नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएको थियो ।

अपराह्न १ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने तय भएको गण्डकी प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । अधिकारीले गठबन्धनका तर्फबाट ३३ सांसदको समर्थनसहित प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी गरेपछि उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो ।

अधिकारीलाई एमालेका २२, नेकपा (माओवादी केन्द्र) का आठ, राप्रपाका दुई र स्वतन्त्र निर्वाचित राजीव गुरुङले समर्थन गरेको छ । मुख्यमन्त्री अधिकारी विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद्लाई पूर्णता दिने र बिनाविभागीय मन्त्रीको मन्त्रालय तय गर्ने योजनामा छन् ।