मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

काठमाडौँ । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । उनले प्रदेशसभाको आज दिउँसो १ बजे बोलाइएको बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेको बताएका छन् ।

प्रदेशसभाको आजको बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने र आजै निर्णयार्थ प्रस्तुत हुने प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिएका छन् । कार्की नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका छ र जसपाका १ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रदेश सरकारमा आज माओवादी केन्द्रका तर्फबाट २ जनालाई मन्त्री बनाउन लागिएको बताए । यसअघि प्रदेश सरकारमा एमाले, राप्रपा र जसपाका १/१ जनाले बिनाविभागीय मन्त्रीका रूपमा शपथग्रहण गरिसकेका छन् ।