थारू बस्तीमा सुरु भयो माघीको रौनक

काठमाडौँ । बाँके र बर्दियाका थारू समुदायमा यतिबेला माघीको रौनक छाएको छ । थारू समुदायको मुख्य पर्व माघी नजिकिँदै जाँदा थारू बस्तीमा चहलपहल बढेको छ ।

कामका लागि बाहिर गएकाहरु माघी मनाउन घर फर्किएका छन् । गाउँघरमा माघी पर्वको चहलपहल सुरु भइसकेको बाँकेको बैजनाथ गाउँपालिका–८ निवासी थारू अगुवा एवम् पूर्वबडघर चन्द्रबहादुर चौधरीले जानकारी दिएका छन् ।

उनका अनुसार दसैँ तिहारमा घर नआएका व्यक्ति पनि माघीमा घर फर्किएका छन् । माघी पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा समेत मान्ने गर्छन् । यस पर्वलाई थारू समुदायले बरका तेउहार ठूलो पर्वका रुपमा मनाउँने गरेका छन् ।

माघीका अवसरमा थारू संस्कृति झल्कने नृत्यले गाउँघर गुञ्जयमान हुने गरेको र गाउँ थारू बस्तीमा युवायवती माघीमा मघौटा, सखिया र हुरदङ्गा नाच नाच्ने गर्छन् । माघे सङ्क्रान्तिको अघिल्लो दिन अर्थात् पुस मसान्तमा थारू समुदायमा जिता मार्ने सामूहिक रुपमा सुँगुर, बङ्गुर मारेर खाने गरिन्छ ।

थारूहरुले माघीमै वर्ष दिनको योजना बनाउने गर्छन् साथै माघीमा बनाएको योजनाअनुसार नै परिवारका सदस्यहरु सबै आ–आफ्नो काममा लाग्छन् । घर छुट्टिने, खेतबाली लगाउने निर्णय पनि माघीमै गरिने बताएक छन् ।

थारू कल्याणकारिणीसभा बाँकेका अध्यक्ष विनोद चौधरी भने, यतिबेला थारू बस्तीका चोकचोकमा युवाहरुको जमघट बढेको छ, बाहिरबाट कमाएर आएकाहरु आफ्ना साथीभाइसँग अनुभव साटासाट गर्नमा व्यस्त छन्, थारू बस्तीका घरघरमा माघी धुमधामले मनाइँदै आएका छन् ।

उनका अनुसार माघे सङ्क्रान्तिका दिन गाउँको चोकमा आगोको धुनी बाल्ने प्रचलन रहेको छ । थारु समुदायमा माघे सङ्क्रान्तिको अघिल्लो दिन रातभर जाग्रम बसेर भजन कीर्तन गर्ने चलन छ र माघीका दिन बिहानै नजिकैको खोला नदीमा गई नुहाउने गरिन्छ ।

यस दिन खोला नदीमा गई नुहाउँदा वर्षभरिको पाप पखालिने जनविश्वास रहेको बताए । नुहाइवरी आफूभन्दा ठूला मान्यजनलाई सेवा ढोक गरी आशीर्वाद लिने र साथीभाइसँग अङ्कमाल गरी माघीको शुभकामना आदानप्रदान गर्ने बताएका छन् ।

यो पर्वमा थारू जातिले विशेष परिकारका रुपमा ढिकरी ९चामलको पीठोबाट बनाइने परिकार, माछा, घोघी, सँुगर वा बङ्गुरको मासु र जाँड खाने तथा खुवाउने चलन छ । माघीमा गाउँका सबै जना जम्मा भएर वर्षदिनका लागि बड्घर गाउँको अगुवा, चौकीदार र गुरुवा चयन गर्ने गरिन्छ । यो परम्परा समुदायमा हुने गरेको लोकतान्त्रिक अभ्यासको गतिलो उदाहरण रहेको बाँके राप्ती सोनारी–३ का वडाध्यक्ष मीनकुमार थारूले बताएका छन् ।

माघीमा चयन गरिने अगुवाले वर्ष दिनभरि गाउँको विकास निर्माण, सुरक्षा, सूचना, कुलोपानी र पूजाआजामा अगुवाइ गर्ने उनको भनाइ रहेको छ । माघी नजिकिँदै गर्दा मेलाको पनि तयारी भइरहेको बर्दिया ठाकुरद्वाराका थारू अगुवा मोहन थारूले बताएका छन् ।