काठमाडौँ । यातायात व्यवस्था विभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि आवश्यक कार्ड खरिदको प्रक्रिया अघि बढाएको छ ।
कार्ड खरिदका लागि सूचना निकालिएको र अबका केही महिनामा आइपुग्ने विभागले जनाएको छ । सबै प्रक्रिया पूरा गरेर ल्याउन चार÷पाँच महिना लाग्नसक्ने विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले बताउनुभयो । उहाँका अनुसार नयाँ कार्ड खरिद भएर आउँदासम्मका लागि आवश्यक पर्ने सङ्ख्यामा भने विभागसँग कार्ड बाँकी छ । उहाँले भन्नुभयो, तत्काल छाप्नलाई अभाव छैन र यो सकिँदासम्म अर्को आइपुग्नेछ ।
अहिले अघि बढाइएको खरिद प्रक्रियाबाट १२ देखि १५ लाख कार्ड खरिद हुन लागेको विभागले जनाएको छ । अझै बढी खरिदका लागि थप रकमको पहल भइरहेको सूचना अधिकारी पनेरुले बताउनुभयो । उहाँले भन्नुभयो, अहिले उपलब्ध बजेट जतिको कार्ड खरिद गर्न आह्वान भएको छ, अझै थपिएमा बढी कार्ड किन्न सकिन्छ ।
हालसम्म चालक अनुमतिपत्र छपाइका लागि एउटा मात्रै ‘मास प्रिन्टर’ रहेकामा अर्को एउटा खरिदका लागि विभागले प्रक्रिया अघि बढाइसकेको छ । दुई ‘मास प्रिन्टर’ ले छाप्दा अहिलेभन्दा दोब्बर छापिने र अहिलेको कार्डले नपुग्ने उहाँले बताउनुभयो । अहिले झण्डै सात लाख अनुमतिपत्र छाप्न बाँकी रहेकामा विभागले दुई उपकरणमार्फत त्यो छापिएर सक्ने गरी योजना बनाएको छ ।
विभागले कार्ड खरिदका लागि सूचना भर्खर प्रकाशित गरेको छ । वर्षभरलाई पुग्ने अनुमान गरिएको भए पनि नवीकरण, नयाँ, प्रतिलिपि सबैका लागि चाहिने हुँदा अझै बढी चाहिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, बढी हुँदा खेर जाँदैन, तर नेपालको खरिद प्रक्रिया लामो हुनेहुँदा किन्दा धेरै गर्नसके हुन्थ्यो भन्ने छ ।
विगत वर्षहरुमा उपकरणको क्षमता कमीले मात्रै होइन कार्डको अभावका कारण समेत अनुमतिपत्र छपाइ सुस्त यो । केही वर्षयता विभिन्न समस्याका कारण सेवाग्राहीले सजिलोरुपमा अनुमतिपत्र पाइरहेका छैनन् । रासस
Add Comment