मुख्यमन्त्री यादव ३ जना मन्त्रीले लिए शपथ

काठमाडौँ । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले भोजपुरी भाषामा पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्रीले शपथ लिएपछि यादवसँगै ३ जना अन्य मन्त्रीले शपथ लिएका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहबीच मधेश प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नवनियुक्त मुख्यमन्त्री यादवलाई शपथ गराएका थिए । नेकपा एमालेका तर्फबाट एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव, जनता समाजवादी पार्टीको तर्फबाट सञ्जयकुमार यादव र जनमत पार्टीको तर्फबाट वसन्त कुशवाहाले शपथ लिएका छन् ।

मुख्यमन्त्री यादवले शपथ लिएपछि कार्यक्रममा सहभागी प्रदेश प्रमुख मिश्र, निवर्तमान मुख्यमन्त्री लालबाबु राउत, जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णा यादवसहित मञ्चमा आसीन अतिथि र कार्यक्रममा सहभागी भएका पूर्व मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु र कर्मचारीले बधाई तथा शुभकामना दिएका थिए ।

आजै मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा गएर पदभार ग्रहण गर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ ।